kumari
stcnepal

आईसीसी विश्वकप छनोट : आज नेपाल र नेदरल्याण्डका बीच खेल हुने, नेपाललाई जित्नै पर्ने दवाव

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको छनोट खेलमा शनिबार नेपालले चिरपरिचित प्रतिद्वन्द्वी नेदरल्यान्ड्सको सामना गर्दैछ । खेल नेपाल समय अनुसार, १२ः ४५ बजे सुरु हुनेछ । विश्वकप छनोट खेल जिम्बाब्वेमा हुँदैछ । जारी प्रतियोगिताको समूहगत चरणमा नेपालले चौथो तथा अन्तिम खेल खेल्न लागेको हो । हालसम्म एक जित र दुई हारको नतिजा निकालेको नेपालका लागि नेदरल्यान्ड्स विरुद्धको खेल निकै महत्त्वपूर्ण छ । नेपाली टोली आफ्नो पहिलो खेलमा बलियो जिम्बाब्वेसँग आठ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा नेपालले अमेरिकालाई ६ विकेटले हराएको थियो ।

यसैगरी समूहगत चरणको आफ्नो तेस्रो खेलमा नेपाली टोली दुई पटकको विश्वकप विजेता वेस्ट इन्डिजसँग एक सय एक रनले पराजित भएको थियो । समूह ‘ए’ को अङ्क तालिकामा हालसम्म दुई खेल खेलेको वेस्ट इन्डिज चार अंक सहित पहिलो स्थानमा छ । आफूले खेलेको दुवै खेलमा विजयी भएको घरेलु टोली जिम्बाब्वे पनि चार अंकसहित तालिकाको दोस्रो स्थानमा छ । वेस्ट इन्डिज नेट रन रेटमा जिम्बाब्वेभन्दा अगाडि छ । दुई खेल खेलेको नेदरल्यान्ड्स एक जित र एक हारको नतिजाबाट दुई अङ्क बटुल्दै तालिकाको तेस्रो स्थानमा छ ।

यसैगरी तीन खेलबाट एक जित र दुई हारको नतिजा निकाल्दै दुई अङ्क हात पारेको नेपाल तालिकाको चौथो स्थानमा आसीन छ । नेट रन रेटमा नेदरल्यान्ड्सले नेपाललाई पछि पारेको छ । तीनवटै खेलमा पराजित भएको अमेरिका पाँचौं स्थानमा छ । समूहका दुई बलिया टोली वेस्ट इन्डिज र जिम्बाब्वे प्रतियोगिताको सुपर सिक्स चरणमा पुग्ने लगभग निश्चित जस्तै छ । त्यसैले सुपर सिक्स चरणमा पुग्न अब नेपाल र नेदरल्यान्ड्स बीच चर्को प्रतिस्पर्धा देखिएको छ । पहिलो चरणको खेलपछि दुबै समूहबाट माथिल्लो तीन स्थानमा रहने टोली प्रतियोगिताको सुपर सिक्स चरणमा प्रवेश गर्नेछन् । दुबै समूहको चौथो र पाँचौं स्थानमा रहने टोलीले भने प्लेअफ चरणको खेल खेल्नेछन् ।

यो छनोट प्रतियोगितामा पहिलो र दोस्रो हुने टोली यसै वर्ष भारतमा आयोजना हुने आईसीसी एकदिवसीय विश्वकपका लागि चयन हुनेछन् । यसका अतिरिक्त यो प्रतियोगिताले सहभागी अन्य टोलीको वरीयता समेत निर्धारण गर्नेछ । त्यसैले शनिबारको खेलमा नेपालले नेदरल्यान्ड्सलाई हराउनुको विकल्प छैन । उक्त खेलमा नेपालले नेदरल्यान्ड्सलाई हराएर मात्र पुग्दैन । यसका अतिरिक्त सोमबार हुने समूहगत चरणको अन्तिम खेलमा वेस्ट इन्डिजले नेदरल्यान्ड्सलाई हराउनु पनि उत्तिकै आवश्यक छ ।

नेपालले प्रतियोगिताको सुपर सिक्स चरणमा स्थान बनाउन नेदरल्यान्ड्सले बाँकी रहेका दुवै खेलमा पराजय ब्यहोर्नु पर्ने हुन्छ । हाल नेपालको नेट रनरेट माइनस ० दशमलव ६३८ र नेदरल्यान्ड्सको नेट रनरेट माइनस ० दशमलव १६७ रहेको छ । नेदरल्यान्ड्स आफ्नो पहिलो खेलमा जिम्बाब्वेसँग ६ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा भने नेदरल्यान्ड्सले अमेरिकालाई पाँच विकेटले पराजित गरेको थियो । शनिबार हुने खेलमा नेपाललाई पराजित गरेमा नेदरल्यान्ड्स चार अंकसहित सजिलै सुपर सिक्स चरणमा पुग्नेछ ।

यसको विपरित उक्त खेलमा नेदरल्यान्ड्सलाई हराउन सके नेपालको अङ्क चार पुग्नेछ । तर, समूहगत चरणमा त्यसपछि पनि नेदरल्यान्ड्सको एक खेल बाँकी रहन्छ । आफ्नो अन्तिम खेलमा नेदरल्यान्ड्सले वेस्ट इन्डिजलाई हराएमा नेपालको सुपर सिक्स यात्रा अप्ठ्यारोमा पर्नसक्छ । यस्तो स्थितिमा नेपाल र नेदरल्यान्ड्सको समान चार/चार अङ्क हुनेछ । त्यसपछि नेट रनरेटका आधारमा सुपर सिक्स चरणमा पुग्ने टोलीको टुंगो लाग्नेछ । यसैगरी नेपाल र नेदरल्यान्ड्सबीचको खेल अनिर्णीत अवस्थामा टुंगिएको अवस्थामा पनि दुबै टोलीको अङ्क तीन/तीन हुनेछ । यस्तो अवस्थामा नेदरल्यान्ड्सलाई नेट रनरेटको फाइदा प्राप्त हुनेछ । त्यसमाथि समूहगत चरणमा नेदरल्यान्डको एक खेल (वेस्ट इन्डिज विरुद्ध) पनि बाँकी रहनेछ ।

footer