kumari
stcnepal

मदन भण्डारीको जन्म जयन्तीमा टिकटक प्रतियोगिता हुने

जननेता मदन भण्डारीको जन्मजयन्तीको अवसरमा टिकटक प्रतियोगिताको आयोजना गर्न लागिएको छ । प्रेस चौतारी नेपालले भण्डारीको जन्मजयन्तीको अवसरमा ‘मदन भण्डारी र समृद्ध नेपालः सुखी नेपाल टिकटक प्रतियोगिता–२०८०’ को आयोजना गर्न लागिएको जनाएको छ ।

प्रतियोगिताको निर्णायक मण्डलमा अभिनेता रमेश उप्रेती, अभिनेत्री बेनिशा हमाल र निर्देशक जनकदीप पराजुली छन् । ‘मदन भण्डारी र समृद्ध नेपालः सुखी नेपाली’ विषयमा आधारित भएर भाषण, क्यारिकेचर, नाटक, नृत्य, गीत, कथा, संवाद, कविता, गजल वा अन्य रचनात्मक टिकटक बनाउन सकिने आयोजकले जनाएको छ । त्यस्तै, असार २१ गतेसम्म अपलोड भएका टिकटकलाई मात्र मान्यता दिइने स्पष्ट पारिएको छ । टिकटकमा मदन भण्डारी र प्रेस चौतारीको ह्यास ट्याग अनिवार्य प्रयोग गरिएको हुनुपर्ने छ । टिकटकको लिंक प्रेस चौतारीको इमेलमा पठाउनुपर्नेछ ।

प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार, द्वितीय हुनेलाई ३० हजार, तृतीय हुनेलाई २० हजार र सान्त्वना स्वरुप १० हजार रुपैयाँ पुरस्कार दिइने आयोजकले जानकारी दिएको छ । असारको अन्तिम साता काठमाडौंमा हुने कार्यक्रममा पुरस्कार सहित अवार्ड प्रदान गरिने छ ।

footer