kumari
stcnepal

मिटरब्याजीको आरोपमा ललितपुर बाट जग्गा कारोबारी ज्ञानेन्द्र महर्जन पक्राउ

काठमाडौँ । मिटरब्याजीको आरोपमा प्रहरीले ललितपुर बाट ज्ञानेन्द्र महर्जनलाई पक्राउ गरेको छ । ललितपुर महानगरपालिका–२६ घर भएर नखिपोट बस्दै आएका ४६ वर्षीय महर्जनले २०७५ बाट मिटर ब्याजमा लगानी गरेको आरोप छ । ललितपुर घर भएका ३७ वर्षीय मनोज महर्जनलाई ३० लाख सापटी दिएर ‘वैदेशिक रोजागारी’ को कागज गराएर उनले १ करोड २६ लाख असुलेको ललितपुरका एसएसपी सिद्धिबिक्रम शाहले बताए ।

असार ८ मा पक्राउ गरेर ललितपुर प्रहरीले ज्ञानेन्द्र विरुद्ध अनुचित लेनदेन ‘मिटरब्याज’ मा लगानी गर्न नहुने’ कसुरमा ७ दिनको म्याद लिएर अनुसन्धान शुरु गरेको छ । अनुचित लेनदेन ‘मिटरब्याज’ मा लगानी गर्न नहुने ऐन अध्यादेशबाट आएको थियो । सो ऐन संसदबाट अनुमोदन भैसकेको छैन । मुलुकी अपराध संहिता–०७४ को दफा–२४९ लाई अध्यादेश मार्फत २०८० वैशाखमा सरकारले संशोधन गर्ने निर्णय गरेको थियो । मिटरब्याज विरुद्ध राजधानीमा भएको लगातारको प्रदर्शनपछि सरकारले ल्याएको अध्यादेशअनुसार प्रहरीले पहिलोपटक मुद्दा दर्ता गरेर कारवाही अघि बढाएको छ ।

अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धमा गठित जाँचबुझ आयोगसँग समेत समन्वय गरेर महर्जन विरुद्ध मुद्दा अघि बढाएको एसएसपी शाहले जानकारी दिए । ज्ञानेन्द्र महर्जन जग्गा कारोबारी पनि हुन् । ३० लाख सापटी दिएर १ करोड २४ लाख नगद लिएपछि उनले थप रकम मागेर पीडितलाई धम्क्याउने गरेको आरोप छ । पीडितले उनलाई बैंकिङ च्यानलबाट १ करोड २४ लाख बुझाएको भौचर प्रहरी कहाँ पेश गरेका छन् । तर, ‘बैदेशिक रोजगारी’ मा पठाउने कागज आफुसँग भएको भनेर ज्ञानेन्द्रले उनीसँग थप पैसा माग्न थालेपछि पीडित प्रहरीकहाँ पुगेका हुन् ।

आरोपितको घरबाट प्रहरीले रकम भरेका र खाली चेक ठुलो परिमाणमा बरामद गरेको छ । ज्ञानेन्द्रले आफु सँग मिटरब्याज लिएको भन्दै थप ३ जना पीडित प्रहरीको सम्पर्कमा पुगेका छन् ।

footer