kumari
stcnepal

पशुपतिनाथ मन्दिरमा राखिएको सुनको जलहरी नाप जाँचमा खटिएको टोली अनियमितता नभेटिएको प्रारम्भिक निष्कर्षमा पुगे

काठमाडौँ । पशुपतिनाथ मन्दिरमा राखिएको सुनको जलहरी नाप जाँचमा खटिएको टोली अनियमितता नभेटिएको प्रारम्भिक निष्कर्षमा पुगेका छन् । आइतबार टोलीले तौल गर्दा जलहरीको १०६.४३२५ केजी मापन गरिएको थियो भने जलहरी कस्न बनाइएको किलाकाँटीको मापन गर्दा १.०३७५ किलो भेटिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका एक उच्च अधिकृतका अनुसार हाल मापन गरिएको जलहरी र किलाकाँटीमा कति सुन, तामा र पित्तल प्रयोग भयो भनेर छुट्याउन अझै दुई दिन लाग्ने छ । ती अधिकृतका अनुसार बाहिर हल्ला चले जस्तो ठुलो परिमाणमा सुनमा अनियमितता भएको भने होइन ।

जलहरी नाप जाँचमा खटिएका एक सदस्यले  भने, ‘सबैको रोहबरमा नाप जाँच गरियो, सुन, तामा र पित्त छुट्याउन बाँकी छ । तर, अनियमितता नै गरेको भनेर भन्न नसकिने निष्कर्षमा हामी पुगेका छौँ ।’ तत्कालीन प्रधानमन्त्री केपी शर्माओलीले ०७७ माघ १२ मा पत्नी राधिका शाक्य र सहयोगीका साथ पशुपतिनाथ मन्दिर पुगेर ‘सङ्कल्प पूजा’ गरेर करिब एक अर्ब रुपैयाँ लागतमा जलहरी राख्ने घोषणा गरेका थिए ।

सुनको जलहरी राख्न ओलीले सरकारका तर्फबाट ३० करोड दिने घोषणा गरेका थिए । कोषले सरकारबाट प्राप्त हुने रकममा ५० करोड ११ हजार थपेर करिब ८० करोड लागतमा १०८ केजीको जलहरी राख्ने निर्णय गरेको थियो । जलहरी निर्माणका क्रममा २४ क्यारेटको सुन पगालेर २२ क्यारेटको बनाउने र त्यसमा ३ प्रतिशत तामासँगै एक प्रतिशत चाँदी मिसाइएको कोषले जनाएको छ । आयोगको नेतृत्वको टोलीमा कोष, खानी तथा भू–गर्भ विभाग, गुणस्तर तथा नापतौल विभाग र नेपाल सुनचाँदी व्यवसायी महासंघका प्रतिनिधिहरू संलग्न छन् ।

footer