kumari
stcnepal

आज देशभरका न्यायालयमा कार्यरत कर्मचारीहरु आन्दोलनमा

काठमाडौं । आज देशभरका न्यायालयमा कार्यरत कर्मचारीहरु आन्दोलनमा छन् । सर्वोच्च अदालत अन्तर्गतका राष्ट्रियस्तरका चार वटै कर्मचारी संगठनहरुले आह्वान गरे अनुसार न्यायालयका कर्मचारीहरुले आज दिउँसो साढे १ बजेसम्म काम रोक्ने छन् ।

१३ असारमा जिल्ला अदालत ललितपुरकी नासु प्रेमिका तामाङलाई कानुन व्यवसायी अमिर लामिछानेले आक्रमण गरेको भन्दै विरोध स्वरुप न्यायालयका कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुन् । अधिवक्ता लामिछानेले फाँटमा कार्यरत तामाङलाई सक्कल मिसिल माग गर्दा सक्कलै मिसिल दिन नमिल्ने बताएपछि ‘तपाईले जुन-जुन कागजात अध्ययन गर्ने हो सो को नक्कल लिएर जान सक्नुहुन्छ’ भन्दा अपशब्द प्रयोग गरेर ‘तैले के गर्न सक्छेस् गर’ भन्दै हातपात गरेको जिल्ला अदालत ललितपुरका कर्मचारीहरुले जनाएका छन् ।

नासु तामाङ माथि आक्रमण भएको विरोधमा ललितपुर जिल्ला अदालतका कर्मचारीहरुले शुक्रबार देखि नै ‘पेन डाउन’ गरेका छन् । कानुन व्यवसायीहरुबाट कर्मचारीहरुलाई धम्की र दबाब आएको भन्दै उनीहरुले शुक्रबार देखि नै काम गर्न नसक्ने भनेर पेन डाउनको निर्णय गरेका हुन् । न्यायालयका कर्मचारीहरुले नासु तामाङ माथि हातपात गर्ने लामिछानेलाई कानुन अनुसार कारबाहीको माग गरेका छन् । अधिवक्ता लामिछाने विरुद्ध नासु तामाङले १३ असार मै जिल्ला अदालत ललितपुरमा अदालतको अवहेलनामा कारबाही गर्न माग गर्दै निवेदन दिएकी छिन् ।

footer