kumari
stcnepal

एसीसी इमर्जिङ टिम एसिया कप क्रिकेट प्रतियोगिता अर्को साता श्रीलंकामा सुरु हुँदै, सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीको विषयमा अन्यौल

काठमाडौँ । एसीसी इमर्जिङ टिम एसिया कप क्रिकेट प्रतियोगिता अर्को साता श्रीलंकामा सुरु हुँदैछ । जुलाई १३ देखि २३ तारिखसम्म आयोजना हुने उक्त प्रतियोगितामा नेपालले पनि प्रतिस्पर्धा गर्दैछ । प्रतियोगितामा आठवटा टोलीको सहभागिता रहने छ । नेपाल प्रतियोगिताको समूह ‘बी’ मा परेको छ । उक्त समूहमा नेपालका अतिरिक्त भारतको ‘ए’ टोली, पाकिस्तानको ‘ए’ टोली र संयुक्त अरब इमिरेट्स (यूएई) रहेका छन् ।

प्रतियोगिताको समूह ‘ए’ मा अफगानिस्ताको ‘ए’ टोली, बंगलादेशको ‘ए’ टोली, श्रीलंकाको ‘ए’ टोली र ओमान रहेका छन् । नेपालले आफ्नो पहिलो खेल जुलाई १४ तारिखमा पाकिस्तानको ‘ए’ टोलीसँग खेल्नेछ । सोही दिन भारतको ‘ए’ टोली र यूएईबीच खेल हुनेछ । नेपालले आफ्नो दोस्रो खेल १७ तारिखमा भारतको ‘ए’ टोलीसँग खेल्नेछ । नेपालले समूहगत चरणको अन्तिम खेल १९ तारिखमा यूएईसँग खेल्नेछ । समूहगत चरणको खेलपछि अंक तालिकाको पहिलो र दोस्रो स्थानमा रहने टोली नकआउट चरण (सेमिफाइनल) मा प्रवेश गर्नेछन् ।

प्रतियोगिताको दुबै सेमिफाइनल खेल २१ तारिखमा खेलिने छ । फाइनल खेल २३ तारिखमा हुनेछ । एसीसी इमर्जिङ टिम एसिया कपको यो पाँचौं संस्करण हो । नेपाल एसीसी प्रिमियर कपको विजेताका रुपमा एसीसी इमर्जिङ टिम एसिया कपमा छनोट भएको हो । एसीसी प्रिमियर कपको अंक तालिकामा पहिलो, दोस्रो र तेस्रो स्थानमा रहने टोली एसीसी इमर्जिङ टिम एसिया कपमा पुग्ने प्रावधान छ । नेपालमा आयोजना भएको एसीसी प्रिमियर कपबाट नेपालका अतिरिक्त यूएई र ओमान पनि एसीसी इमर्जिङ टिम एसिया कपमा छनोट भएका थिए ।

एसीसी इमर्जिङ टिम एसिया कपका लागि भारत, पाकिस्तान, बंगलादेश र अफगानिस्तानले यसअघि नै आफ्नो टोली घोषणा गरिसकेका छन् । नेपाल, श्रीलंका, ओमन र यूएईले भने आफ्नो टोली घोषणा गर्न बाँकी छ । इन्डियन प्रिमियर लिग (आईपीएल) को पछिल्लो संस्करणमा उत्कृष्ट प्रदर्शन गरेका प्रभसिमरन सिंह पनि भारतीय टोलीमा छन् । बंगलादेशी टोलीमा पनि सौम्य सरकार, मेहदी हसन, रकिबुल हसन, सहादत होसैनलगायतका प्रभावशाली खेलाडी छन् ।

नेपालका दुई प्रभावशाली खेलाडी स्पिनर सन्दीप लामिछाने र अलराउन्डर दीपेन्द्रसिंह ऐरीले भने एसीसी इमर्जिङ टिम एसिया कप खेल्ने विषयमा भने अन्यौल छ । विदेशी फ्रेन्चाइज लिग खेल्नुपर्ने भएकाले यी दुई खेलाडीको विषयमा अन्यौल देखिएको हो । सन्दीप र दीपेन्द्र क्यानडामा आयोजना हुने फ्रेन्चाइज लिग ‘ग्लोबल टीट्वान्टी’ मा आबद्ध छन् । ग्लोबल टीट्वान्टी लिग जुलाई २० देखि अगस्त ६ तारिखसम्म आयोजना हुँदैछ । उक्त लिगमा सन्दीप सरे जग्वार्स क्लबमा आबद्ध छन् । दीपेन्द्रलाई भने मोन्ट्रियल टाइगर्सले अनुबन्धित गरेको छ ।

footer