kumari
stcnepal

बाहिर पढ्न जाँदैमा सबै कुरा विद्यार्थीको पक्षमा हुन्छ भन्ने छैन : अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले पढ्नकै लागि विदेश जानुपर्छ भन्ने मानसिकता बदल्नुपर्ने बताएका छन् । सोमबार नेपाल पब्लिक क्याम्पस संघको ३३ औं वार्षिकोत्सव समारोहमा बोल्दै मन्त्री महतले यस्तो बताएका हुन् । ‘बाहिर जाँदैमा सबै कुरा विद्यार्थीको पक्षमा हुन्छ भन्ने छैन । आर्थिक दायित्व थप त छँदैछ । अरु कोणबाट पनि उत्कृष्ट हुन्छ भन्ने कुनै ग्यारेन्टी हुँदैन,’ उनले भने, ‘तर पनि पढ्न बाहिर जानुपर्छ भन्ने मानसिकता समाजमा छ । यसलाई रिभर्स गर्नुपर्ने आवश्यकता छ ।’

आफूले विदेशमा अध्ययन गरेको स्मरण गर्दै उनले त्यसबेला बाहिर जाने कुरा स्वतन्त्रता सँग जोडिएको बताए । ०४६ सालसम्म बाहिर गएर अध्ययन गर्ने कुरा विरलै हुने र छात्रवृत्तिमा सीमितले मात्र अवसर पाउने उनले स्मरण गरे । ०४६ सालभन्दा ठीक एक वर्षअघि प्रतिस्पर्धाबाट अमेरिका पढ्न जान आफू पूर्ण छात्रावृत्तिमा चुनिएको उनले स्मरण गरे । ‘म प्रजातन्त्रका लागि लडिरहेको योद्दा थिएँ, नेपाल विद्यार्थी संघको नेतृत्व पनि गर्थे । त्यसैले म अध्ययनका लागि जान नपाउने भएँ । त्यसबेला अन्यथा विचार राख्ने वित्तिकै उनीहरुले पासपोर्ट पाउँदैन थिए । मैले पनि नपाउने भएँ । तर, त्यसैबीचमा जनआन्दोलन भयो, म त्यसबेला आन्दोलन सञ्चालनमै थिएँ । त्यो सफल भएको कारणले म पढ्न जान पाएँ,’ उनले भने ।

उनले शैक्षिक मानचित्रमा पब्लिक क्याम्पसहरुको योगदान महत्वपूर्ण रहेको समेत बताए । पब्लिक क्याम्पसको उपस्थितिले त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसहरुको आर्थिक दायित्व विस्तार हुने क्रम रोकेको भन्दै उनले पब्लिक क्याम्पसमा सर्वसाधारणको पनि योगदान रहने बताए । पब्लिक क्याम्पस ठूलो संख्यामा देशैभर फैलिएको भन्दै उनले पछाडि परेको क्षेत्र र स्थानीय तहमा साधन स्रोत जुटाउन कठिन भएका पब्लिक क्याम्पसलाई सरकारले अनुदान दिने गरेको बताए ।

footer