kumari
stcnepal

साफ च्याम्पियनसिपमा आज नेपाल र भारत खेल्दै

काठमाडौं । माल्दिभ्समा भइरहेको साफ च्याम्पियनसिप २०२१ अन्तर्गत नेपालले आज भारतको सामना गर्दैछ । नेपाल र भारतबीचको खेल मालेस्थित नेशनल स्टेडियममा नेपाली समय अनुसार राती ९ः४५ बजे सुरु हुनेछ ।
प्रतियोगितामा अहिलेसम्म दुई खेल खेल्दा नेपाल र भारत फरक स्थितिमा छन् । ५ राष्ट्र सम्मिलित प्रतियोगितामा राउण्ड रोविन लिगका आधारमा खेल भइरहँदा नेपालले सुरुवाती दुई खेल जितेर ६ अंक जोडेको छ र फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । अर्कोतर्फ भारतले सुरुवाती दुई खेल जित्न सकेन । लगातार दुई बराबरीबाट भारतको २ अंक छ । यस्तो अवस्थामा दुवै टोलीलाई आजको खेल महत्वपूर्ण छ । नेपालले भारतलाई पराजित गरेमा एक खेल खेल्नुअघि नै फाइनल पुग्नेछ । यस्तोमा नेपाल साफ च्याम्पियनसिपमै पहिलो पटक फाइनल पुग्नेछ । बराबरी वा पराजित भएमा भने नेपालले अन्तिम खेलसम्म कुर्नुपर्नेछ । उता भारतलाई जित निश्चित रुपमा आवश्यक छ । फाइनल पुग्ने सम्भावना कायम राख्न पनि भारत जित चाहन्छ । हारले भने सर्वाधिक ७ पटकको च्याम्पियन भारतलाई फाइनल पुग्न कठिन हुनेछ ।

आजै घरेलु टिम माल्दिभ्स र श्रीलंकाबीच पनि खेल हुनेछ । ४ः४५ मा हुने उक्त खेल माल्दिभ्सले जितेमा र भारत नेपालसँग पराजित भएमा भने भारत फाइनल होडबाट बाहिरिनेछ ।

यसअघि नेपालले पहिलो खेलमा माल्दिभ्सलाई १–० र श्रीलंकालाई ३–२ ले पराजित गरेको थियो । भारतले भने पहिलो खेलमा बंगलादेशसंग १–१ र त्यसपछि श्रीलंकासँग गोलरहित बराबरी खेलेको थियो । नेपाल २ खेलबाट ६ अंकसहित शीर्ष स्थानमा रहँदा उति नै खेलबाट २ अंक रहेको भारत चौथो स्थानमा छ ।

नेपालले ८ वर्षयता भारतलाई पराजित गर्न सकेको छैन र संयोग के छ भने साफमा पनि नेपालले भारतलाई त्यही एक पटक मात्र हराएको छ । सन् २०१३ मा नेपालमै भएको साफमा समूह चरणमा नेपालले भारतलाई २–१ ले पराजित गरेको थियो । अहिलेसम्म साफमा भारतसँगको ६ भेटमा नेपाल ५ पटक पराजित भएको छ ।त्यसैले पनि नेपाल भारत विरुद्ध ८ वर्षपछि पहिलो जितको खोजीमा छ । साफमा पनि दोस्रो पटक भारतलाई हराउने नेपालको लक्ष्य छ ।

footer