kumari
stcnepal

जनताले हिसाव खोज्दा, कुमारीचोक बुझाउन तैयार हुनु बेश

 

राजन कार्की
पाखण्डीको कामै पाखण्ड देखाउनु हो । नेतृत्वको गुण भए न नेतृत्व देखाउनु ? राजनीतिलाई व्यवसाय बनाउनेले देखाउने नै पाखण्ड हो । १४ वर्षमा जे देखियो, पाखण्ड बाहेक केही देखिएन ।

परिवर्तन हामीले गरेका र्हौं भन्नेहरु कति गलत रहेछन्, समयले प्रमाणित गरिदिएको छ । आँट र ताकत भइदिएका भए, राजनीतिक सिद्धान्त, नैतिक बल र स्पष्ट लक्ष्य भएको नेपाल अग्रगमनको धेरै अगाडि पुगिने थियो । यिनको यात्रा बेइजिङ, दिल्ली, वाशिङ्टन तिर छ, जनताको जीवनस्तर उकास्नेतिर छैन । यसकारण त यिनमा स्वाभिमान र स्वाधीनताको कमी छ । कहाँ छन् प्रचण्ड बाबुरामहरु ? कहाँ छन् देउवा, ओली र महन्थहरु ? यिनका पछि लाग्ने लहडबाजे युवा नेताहरु कहाँ छन् ? यी जहाँ छन्, त्यहाँ भ्रष्टाचार र विभेदमात्र छ । अनुशासनहीनता र नैतिकहीनता मात्र छ ।

यसकारण त देश आँसुमा डुबेको छ । जनआन्दोलनका सफल नेता र तिनका सहयोगीहरुले जनताको रगत–पसिनाको सर्बत मात्र पिए । बाल्मिकी बन्न नसकेका सुकुलगुण्डा सावित भइसकेका छन् । जनताका नेताहरुले देश र जनताका लागि सामुहिक बहस कहिले पनि गरेनन् । निदानको खोजी कहिले गर्न खोजेनन् । यी वाल्मिकी बन्न नसकेका रत्नाकर हुन् । जो उज्यालो होइनन्, अँध्यारो मात्र हुन् । यसकारण त मुलुकमा हिंसा र व्यभिचार बढिरहेछ ।

वाल्मिकी बन्न सक्ने विवेक थियो र रत्नाकरले ऋषिमन, ऋषि सुझाव बुझेर सत्मार्गतिर लागे । स्वर्ग र नर्क पृथ्वीमै छ, मान्छेले यही जीवनमा स्वर्ग र नर्कको भोग गर्छ भन्ने मान्यता बुझे । यस्तो मान्यता न सर्वहारावादी, न समाजवादीले बुझे ? यसकारण त यिनीहरुमा राष्ट्रघात बढी देखिन्छ ।
हरेक चुनावमा, हरेक परिवर्तनमा आमजनताले साथ दिए, ज्ञान दिए, सहमति र सहकार्य गर भन्ने अर्ति पनि दिए । तर, कलियुगका रत्नाकर परे हाम्रा नेताहरु । त्यसैले आफूलाई स्वार्थको शिखरपुरुष माने, लोकतान्त्रिक साँचोमा ढाल्न सकेनन् । पापकर्म, भ्रष्टाचार र कुशासनलाई यिनले धर्म ठाने । जीत ठाने । जसरी पनि सत्ता, शक्ति र सम्पत्ति कमाउनुपर्छ भन्ने यिनको मान्यता रह्यो । लोकतन्त्रको जगमा अलोकतान्त्रिक र अपवित्र धारणा बोकेका कारण जनादेश र जनआकांक्षा यिनलाई अपाच्य बन्यो । फलस्वरुप एकजना नेता पनि बाल्मिकी बन्न सकेनन् । राष्ट्र बाल्मिकीबिहीन रत्नाकरहरुको जंगल बनिसकेको छ । जंगलमा हुने जंगली शासन हो, मत्स्य न्याय हो । मुलुकमा संवैधानिक नामको लोकतान्त्रिक जंगल शासन चलिरहेको छ ।

स्वार्थको पोखरीमा डुब्दा डुब्दा यिनको चेतना तन्तु मरिसक्यो, अव यिनले अनुशासनमा चलाउनुपर्ने लोकतन्त्र चलाउन सक्ने देखिदैन । लोकतान्त्रिक गणतन्त्रलाई जीवन्त पार्ने र लोकको जीवन पद्धतिमा रुपान्तरण गर्न सक्ने ल्याकत यिनमा रहेन ।
खेतबारीमा ठड्याएको बुख्याँचा र लोकतन्त्रमा उभ्भिएका नेताहरुमा खासै भिन्नता छैन । बुख्याँचा निर्जिव हो, नेता जिवित देखिन्छन् । जब मानवीय मर्म र मर्यादा राख्दैनन्, विवेक देखाउँदैनन्, तिनीहरु कति जिवित होलान् ? राजनीति गर्नेले श्वास फेर्नुमात्र बाँच्नु होइन । जनताको नजरमा, विश्वासमा बाँच्नुपर्छ । कुनै पनि नेता जनताको विश्वासमा बाँचेको देखिदैन । मुलुकमा विश्वासको संकट घनिभूत छ ।
जता हेरे पनि राजनीतिकरण । राजनीतिक गुण्डातन्त्र । बेश्या शरीर बेच्छे, इमान बेच्दिन, हाम्रा नेताहरु त नङ्गा नाचे हजार दाउ गरिरहेका छन् । जनतालाई राजनीतिक सिण्डिकेटमा अल्झाएर महावली बन्नेहरु लोकतान्त्रिक हुन सक्दैनन् ।

देशको परिस्थिति जे छ, त्यो तिक्त अनुभूति पूर्वराजाले बोले । राजतन्त्रविहीन प्रजातन्त्र सान्दर्भिक हुननसक्ने निष्कर्ष पूर्वराजाले सुनाइदिए । के चाहियो ? खतरा देखे यिनले र बाबुरामको मुखबाट निरङ्कूश शब्द ओकलिहाले– चुपचाप लोकतन्त्र मानेर बस । यही हो लोकतन्त्र ? संविधानमा वाक स्वतन्त्रता लेखिएको छ, अब बोल्न पनि नपाइने भयो । नागरिकमाथिको यस्तो निषेध र विभेद संवैधानिक शासन हुनसक्दैन । आफू बोलीको सम्मान गर्न नसक्ने, अरुलाई बोल्नबाट रोक्नु भनेको सीमा नाघेको निरङ्कूशता हो ।

पूर्वराजाले २०६५ साल जेठ १५ गते गणतन्त्र कार्यान्वयन भएपछि आजसम्म कुनै पनि प्रकारको बाधा ब्यवधान खडा गरेका छैनन्, त्यस्ता राजाले ब्रम्हले देखेको नागरिक हक पनि प्रयोग गर्न नपाउने ? संविधान असफल भयो, राजनीति असफल भयो, नेताहरु असफल भए र सत्ताको बागडोर यिनै असफलहरु जनादेशबाट होइन परमादेशबाट चलाइरहेका छन् ।

संसद छ, देश र जनताको विषयमा बहस हुँदैन । सरकार छ, देश र जनताका लागि कुनै निर्णय नै गर्न सक्दैन । जनता पीडामा छन्, परमादेशको सरकारले पनि सय दिन पार गरेको छ । जनतामा निराशाबाहेक केही पनि छैन । अब जनताले अर्को विद्रोह गर्नैपर्ने परिस्थिति आइसक्यो । यदि जनता सडकमा निस्किए भने यी अग्रगमनकारी लोकतान्त्रिक नामधारी नेताहरु कता लुक्छन् ? कता भाग्छन् ? हुन त हरेक नेता विदेशको ग्रिनकार्ड बोकेर बसेका छन् । ती भाग्लान्, भागेर सुख पाउनेवाला छैनन् । जनताले हिसाव खोज्छन्, बहीखाता खुलेका दिन कुमारीचोक बुझाउन हरेक नेताले अहिलेदेखि तयारी गरे हुन्छ ।

footer