kumari
stcnepal

साल्ट ट्रेडिङ कर्पोरेशनको आफ्नो मूल्य र मान्यता अनुरुप उपभोक्ताको घरदैलोमा उपभोग्य वस्तु उपलब्ध गराउनमा उल्लेखनीय भूमिका रहेको छ : आपूर्तिमन्त्री

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले बुधबार ६१औँ वार्षिकोत्सव मनाएको छ । उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालको प्रमुख आतिथ्यमा आयोजित वार्षिकोत्सवको अवसरमा बालबालिकाको संरक्षणमा सक्रिय संस्थाहरुलाई बालहितकारी पुरस्कार र उत्कृष्ट सेवा दिने कर्मचारीलाई प्रशंसापत्र प्रदान गरिएको छ ।

साथै, कर्पोरेशनले एसईई परीक्षामा उत्ृकष्ट अंक ल्याएर उत्तिर्ण भएका कर्मचारीका छोराछारीहरुलाई छात्रबृत्ति दिने घोषणा समेत गरेको छ । वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै आपूर्तिमन्त्री रिजालले नेपाली जनतालाई सपथ मूल्यमा गुणास्तरिय उपभोग्य वस्तु उपलब्ध गराउन कर्पोरेशनले महत्वपूर्ण भूमिका खेल्दै आएको बताए । मन्त्री रिजालले भने, ‘साल्ट ट्रेडिङ कर्पोरेशनले आफ्नो मूल्य र मान्यताअनुरुप उपभोक्ताको घरदैलोमा उपभोग्य वस्तु उपलब्ध गराउनमा उल्लेखनीय भूमिका रहेको छ ।’

उनले सरकार आम जनताले स्वाभाविक मूल्यमा दैनिक उपभोग्य वस्तु प्राप्त गर्न सकुन् भन्ने ध्येयअनुसार कर्पोरेशनले कार्य नीति अवलम्वन गर्दै कृत्रिम मूल्य वृद्धिले उपभोक्तामा नकारात्मक असर नपरोस् भनी बजार अनुगमनमा सक्रियता अपनाउँदै आएको बताए । मन्त्री रिजालले भने, ‘नुन, चिनी जस्तो अत्यावश्यक दैनिक उपभोग्य वस्तुलाई सुपथ मूल्यमा सर्वसाधारणसम्म सहजरुपमा पुर्याउन र वित्तीय लगानीको भार खेपेर पनि ६–६ महिनाको सिंचिति कायम राख्दै आएको छ ।’

मन्त्री रिजालले सेवामूलक व्यावसायिक संस्थाको रुपमा कर्पोरेशनले संस्थागत सामाजिक उत्तरदायित्व पूरा गर्न विभिन्न सामाजिक संस्थाले पुर्याएको योगदानप्रति प्रसन्नताको अनूभुति प्रदान गर्दै आएको बताए । सामाजिक सेवामा अझ बढी योगदान गर्दै दैनिक उपभोग्य वस्तुको कारोबारका साथै कृषि क्षेत्रमा समेत प्रत्यक्ष योगदान पुर्याउन सरकार प्रयत्नशील रहेको उनको भनाइ छ ।

कार्यक्रममा कर्पोरेशनका अध्यक्ष प्रदिपलाल श्रेष्ठले कर्पोरेशनले नेपाल सरकारको नीति निर्देशनलाई पूर्णरुपमा पालना गरी बजारमा दैनिक उपभोग्य वस्तुको अभाव हुन नदिन हर प्रयासले गर्दै आएको बताए । उनले कर्पोरेशनले सेवा र कार्य क्षेत्र विस्तार गर्दै आम उपभोक्ताको घरदैलोमा सेवा पु¥याउने सरकारको भावनालाई मूर्तरुप दिन निरन्तर लागिरहने बिश्वास दिलाए । सरकारले कर्पोरेशनलाई विश्वास गरी समय समयमा विभिन्न दायित्व निर्वाह गर्न निर्देशन र जिम्मेवारी प्रदान गर्दै आएको बताउँदै उनले त्यसलाई कार्यान्वयन गर्दै आएको उनको भनाइ छ ।

अध्यक्ष श्रेष्ठले आफ्नो कमाइको केही अंश सामाजिक काममा लगाउनुपर्छ भन्ने मान्यताअनुरुप संस्थागत सामाजिक उत्तरदायित्व बोध गर्दै कर्पोरेशनले सामाजिक काम गर्दै आएको बताए । जसअनुसार बालबालिकाको उत्थानमा काम गर्ने सामाजिक संघसंस्था तथा ब्यक्तित्वहरुलाई पुरस्कार प्रदान गर्दै आएको उनले बताए । यस्तै, कार्यक्रममा सञ्चालक समितिका सदस्य एवं उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव लीलाप्रसाद शर्माले कर्पोरेशनको प्रगतिको कामना गरे ।

प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले कर्पोरेशनले आमजनता तथा समस्त उपभोक्ताका लागि दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने लक्ष्य लिई आफ्नो सेवा प्रारम्भ गरेको ६० वर्ष पूरा गरी ६१ वर्षमा प्रबेश गरेको र यहाँसम्म आइपुग्दा कर्पोरेशनले आफ्नो उद्देश्यअनुसार काम गर्दै आएका बताइन् । उनले विषम परिस्थितिमा समेत कर्पोरेशनले उपभोक्ताको सेवामा सदैव सक्रिय रहँदै आएको बताउँदै आगामी दिनमा पनि उपभोक्ताको घरदैलोमा अत्यावश्यक वस्तु पु¥याउन कर्पोरेशन प्रतिवद्ध रहने प्रतिवद्धता जनाइन् ।

footer