kumari
stcnepal

नेपाल पत्रकार महासंघले दियो पत्रकारलाई पारिश्रमिक नदिने संञ्चार गृह टेलिभिजन बिरूद्ध संघर्ष उत्रिने चेतावनी

काठमाडौं । नेपाल पत्रकार महासंघले मूलधारका आधा दर्जन भन्दा बढी पत्रिका र टेलिभिजन विरुद्ध दबाबमूलक संघर्षको कार्यक्रम अगाडि बढाउने निर्णय गरेको छ । महासंघको आज बसेको केन्द्रीय कार्यसमितिको बैठकले कान्तिपुर मिडिया ग्रुप, राजधानी दैनिक, इमेज टेलिभिजन, अन्नपूर्ण पोष्ट, एपिवान टेलिभिजन र ग्यालेक्सी फोरके टेलिभिजनलगायत सञ्चारगृह विरुद्ध आन्दोलन गर्ने निर्णय गरेको हो ।

यी सञ्चारगृहहरूले पछिल्लो समय श्रमजीवीलाई पारिश्रमिक नदिने गरेको महासंघको ठहर छ । श्रमजीवी पत्रकारको समस्याप्रति बैठकको गम्भीर ध्यानाकर्षण भएको महासंघका अध्यक्ष विपुल पोखरेलले बताए । उनका अनुसार पटकपटकको पत्राचार, संवाद, वार्ता तथा दबाबका विभिन्न कार्य अघि बढाउँदा समेत श्रमजीवी पत्रकारको समस्या समाधानमा सञ्चारगृहहरू गम्भीर र जिम्मेवार नभएकाले संघर्षमा उत्रिने निर्णय गर्नुपरेको हो । श्रमजीवीको समस्याप्रति सञ्चारगृहहरू गैरजिम्मेवार बनेको भन्दै बैठकले खेद व्यक्त गर्दै समयमै ती समस्याहरूको सुनुवाई गर्न पुन: आग्रह गरेको छ । अझै अटेर गरे ती सञ्चारगृह विरुद्ध आवश्यकता अनुसार दबाबमूलक संघर्षका कार्यक्रमहरू चलाउने निर्णय बैठकले गरेको छ ।

यस्ता छन् बैठकले गरेको निर्णयहरू–

– कान्तिपुर मिडिया ग्रुप, राजधानी दैनिक, इमेज टेलिभिजन, अन्नपूर्ण पोष्ट, एपिवान टेलिभिजन र ग्यालेक्सी फोरके टेलिभिजनलगायतका सञ्चारगृहमा पछिल्लो समय देखिएको श्रमजीवी पत्रकारको समस्याप्रति बैठकको गम्भीर ध्यानाकर्षण भएको छ । पटकपटकको पत्राचार, संवाद, वार्ता तथा दबाबका विभिन्न कार्य अघि बढाउँदासमेत श्रमजीवी पत्रकारको समस्या समाधानमा सञ्चारगृह गम्भीर र जिम्मेवार नभएकोप्रति बैठक खेद व्यक्त गर्दै समयमै ती समस्याहरूको सुनुवाई नभए ती सञ्चारगृहविरुद्ध आवश्यकताअनुसार दबाबमूलक संघर्षका कार्यक्रमहरू चलाउने निर्णय गरेको छ ।

– नेपालीहरूको महान पर्व दसंै नजिकिँदै गर्दा श्रमजीवी पत्रकारहरू तलवविहीन बन्नु पर्दाको अवस्थालाई लिएर बैठकले गम्भीर छलफल गरेको छ । श्रमजीवी पत्रकार ऐन कार्यान्वयनका सवालमा सरकारको तर्फबाट खासै सक्रियता नदेखिनु र सञ्चारगृहबाट श्रमका सवालमा श्रमजीवी पत्रकारमाथि भइरहेको अन्याय झनझन चुलिइदै गइरहेकोप्रति बैठकले गम्भीर चिन्ता प्रकट गरेको छ । दसैंअगावै आफ्नो संस्थामा कार्यरत सबै श्रमजीवी पत्रकारहरूको बाँकी बक्यौतासहित श्रमजीवी पत्रकार ऐनले तोकेका सबै प्रकारका सेवा सुविधा उपलब्ध गराई सहज वातावरण निर्माण गर्न बैठक सबै मिडिया व्यवस्थापन पक्षसँग हार्दिक आग्रह गर्दछ ।

-बैठकले श्रमजीवी पत्रकारका समस्यालाई थप गम्भीर र जटिल बन्न नदिन महासंघका केन्द्र, प्रदेश र शाखाहरूमार्फत् श्रमजीवी पत्रकार ऐन कार्यान्वयनको अवस्था र श्रमजीवी पत्रकारको श्रम समस्याका सवालमा भइरहेको क्रियापकलापको मिडिया अनुगमन निर्णय गरेको छ । ऐन कार्यान्वयनका लागि सरकारलाई थप दबाब दिने निर्णय बैठकले गरेको छ । सोअनुसार बैठकले जटिल समस्या देखिएका सञ्चारगृहविरुद्ध तत्काल दबाबमूलक संघर्ष अघि बढाउने निर्णय गरेको छ । महासंघ सम्पूर्ण शाखा, एसोसिएट तथा प्रदेश समितिलाई अनुगमन कार्यलाई निरन्तरता दिँदै जटिल समस्या देखिएका सञ्चारगृहमा घेराउ, धर्ना, अनशनसहित संघर्षका विविध कार्यक्रम अघि बढाउन बैठक आग्रह गर्दछ ।

footer