kumari
stcnepal

काठमाडौं नाइट्सका कप्तान ज्ञानेन्द्र मल्लले खेलाडी तथा फिजियोले पाउनुपर्ने उचित रकम नपाएको भन्दै क्यानलाई पत्र पठाएर ध्यानाकर्षण गरे

काठमाडौं । नेपाल टी–२० लिग खेलेका काठमाडौं नाइट्सका खेलाडी तथा फिजियोले अहिलेसम्म पनि पारिश्रमिक नपाएको भन्दै नेपाल क्रिकेट संघ क्यानको ध्यानाकर्षण गराएका छन् । काठमाडौं नाइट्सका कप्तान ज्ञानेन्द्र मल्लले खेलाडी तथा फिजियोले पाउनुपर्ने उचित रकम नपाएको भन्दै क्यानलाई पत्र पठाएर ध्यानाकर्षण गरेका हुन् ।

उनले पत्रमा खेलाडी र टिमले पाउनुपर्ने रकम निकासा गर्न क्यानले प्रतिबद्धता पत्रमा हस्ताक्षर गरे पनि अहिलेसम्म कुनै पनि औपचारिक जानकारी नआएको र कुनै पनि प्रक्रिया अगाडि नबढेकोले क्यानको ध्यानाकर्षण गरेको बताएका छन् । उनले आफूहरुले पाउनु पर्ने रकम निकासका बारेमा क्यानबाट कुनै पहल नभएमा आवश्यक कदम चाल्ने चेतावनी पनि दिएका छन् । क्यानले भने खेलाडीलाई पारिश्रमिक उपलब्ध गराउने प्रक्रियामा नै रहेको बताएको छ ।

क्यानका कार्यवहाक सचिव दुर्गा पाठकले अनलाइनखबरसँग भने, ‘क्यान व्यक्ति होइन, संस्था हो । तत्कालीन समितिले खेलाडीलाई पारिश्रमिक उपलब्ध गराउने जिम्मेवारी लिएको हो, हामी सक्दो छिटो खेलाडीलाई पैसा उपलब्ध गराउने प्रक्रियामा छौं ।’ गत पुसमा भएको लिगको कमर्सियल र स्ट्राटेजिक राइट्स क्यानले भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सलाई दिएको थियो । तर प्रतियोगिता विवादमा परेपछि सेभेन थ्री स्पोर्ट्सका जतिन अहलुवालिया भारत भागेका थिए ।सेभेन थ्रीले नदिए आफूले पुरस्कार र पारिश्रमिक दिने प्रतिबद्धता नेपाल क्रिकेट संघ क्यानले गरेको थियो र प्रतियोगिता सम्पन्न भएको थियो ।

‘हामी कानुनी प्रक्रियामा छौं, व्यक्तिबाट धोका भए पनि संस्था कतै भाग्दैन । हामी सबै खेलाडीले पाउनुपर्ने रकम निकासा गर्नेछौं’, पाठकले भने । प्रतियोगिता सहभागी ६ मध्ये २ टिमका खेलाडीले पारिश्रमिक पाएका छैनन् । लुम्बिनी अलस्टार्ससहित, जनकपुर रोयल्स, पोखरा एभेन्जर्स र विराटनगर सुपर किङ्सले नेपाली खेलाडीलाई पारिश्रमिक दिएको भए पनि काठमाडौं नाइट्स र फारवेष्ट युनाइटेडले नेपाली खेलाडीलाई ५० प्रतिशत पारिश्रमिक दिन बाँकी छ ।यी टिमले श्रमस्वीकृती लगायतका कारण देखाउँदै विदेशी खेलाडीलाई रकम दिएका छैनन् । नेपाल टी–२० लिग क्रिकेटको उपाधि विजेता लुम्बिनी अलस्टार्सले पनि अझै पुरस्कार रकम नपाएको गुनासो गर्दै आएको छ ।

footer