kumari
stcnepal

त्रिकोणात्मक टी–२० आई सिरिजको उपाधिका लागि घरेलु टोली नेपाल र युएई बीच फाइनल खेल आज हुँदै

काठमाडौं । त्रिकोणात्मक टी–२० आई सिरिजको उपाधिका लागि घरेलु टोली नेपाल र युएई बीच फाइनल खेल आज हुँदैछ । हङकङ समेत सहभागी सिरिजमा नेपाल र युएई शीर्ष दुईमा रहँदै फाइनल पुगेका हुन् । फाइनल खेल कीर्तिपुर स्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ११ बजे सुरु हुनेछ । यसअघि लिग चरणका सबै खेल मुलपानी क्रिकेट मैदानमा खेलाइएको थियो ।

डबल राउण्ड रोविनका आधारमा भएको सिरिजमा नेपाल अपराजित रहँदै फाइनल पुगेको हो । नेपालले युएई र हङकङलाई दुई–दुई खेलमा पराजित गरेको थियो । युएई र हङकङले समान एक खेल जिते पनि नेट रनरेटको आधारमा हङकङलाई पछि पार्दै युएई दोस्रो भएर फाइनल पुगेको हो । नेपालले पहिलो खेलमै युएईलाई ७ विकेटले पराजित गरेको थियो भने युएईलाई अर्को खेलमा ६ विकेटले हराएको थियो । यस्तै हङकङलाई पहिलो खेलमा ६ विकेटले र दोस्रो खेलमा ७९ रनले हराएको थियो ।

यही कात्तिक १३ देखि काठमाडौंमै सुरु हुने आईसीसी टी–२० विश्वकप एसिया छनोटको तयारी स्वरुप आयोजना गरिएको सिरिजमा नेपालले उत्कृष्ट प्रदर्शन गरिरहेको छ । फाइनलमा पनि त्यही लय कायम राख्दै उपाधि जितेर छनोटका लागि राम्रो तयारी गर्ने योजनामा नेपाल छ । टी–२० आईमा नेपाल र यूएई बीच अहिलेसम्म कुल ७ खेल भएका छन् । जसमा नेपालले ४ खेल जित्दा यूएई तीन खेलमा विजयी भएको छ ।

footer