kumari
stcnepal

राजतन्त्र नुहियो, लोकतन्त्र तुहियो, कानुन व्यवस्था कुहियो

राजन कार्की
राजतन्त्र नुहियो, लोकतन्त्र तुहियो, कानुन व्यवस्था कुहियो । वर्तमान नेपालको तस्वीर हो यो ।
परिवर्तन समयले ल्याउने हो, ल्यायो । जभेललाई छोपेर हाल्नेले घ्यू थपे, विदेशी ताकत थपे र राजतन्त्रलाई नुहिन बाध्य पारे । त्यसपछि राजतन्त्रलाई किनारा लगाए । लोकतन्त्र आयो । असन्तुष्टमा खुशी छायो, अब त केही राम्रो होला कि भन्ने आशा पलायो ।
तर, हातमा सत्ता आएपछि सत्ताधारीहरु यसरी तुहिए कि उनीहरु सग्लै छन्, स्वस्थ छन् भन्ने स्थिति नै रहेन । सत्ताधारीहरु बौलाह साँढे कुदे झैं कुदिरहे, आमनागरिकको जीवन खोरिया बनिरह्यो । परिवर्तनपछि हुनुपर्ने चार तीन तत्व रहेछन्– दूरदृष्टि, इमानदारिता, सुशासन र निष्पक्षता । केही पनि बाक्ी रहेन । लोकतन्त्र जतिसुकै उत्तम व्यवस्था भए पनि व्यवस्थापन हुन नसक्दा लोकतन्त्र तुहियो । कानुन व्यवस्था भन्ने नै केही बाँकी रहेन । जता हेरे पनि सेटिङ्, नाताबाद, कृपाबाद, अनियमिता । कानुन व्यवस्था भन्ने केही पनि बाँकी रहेन । लोकतन्त्र दुर्गन्धपुर बन्यो । कुहियो । नागरिक असन्तुष्ट छन्, सन्तुष्टीलाई एकलौटी बनाएर राजनीतिक दलहरु अलोकतान्त्रिक जात्रा देखाइरहेका छन् ।

लोकतन्त्र १५ वर्षमै यसरी अलोकप्रिय किन भयो ? हरेकका मनमा उठ्ने स्वभाविक प्रश्न हो यो । तर यतिबिघ्न दुर्गन्धित भइसक्दा पनि लोकतन्त्रका रथी, महारथीहरु आत्ममिमांसा गर्न तैयार छैनन् । उनीहरुलाई लागेको छ– उनीहरुले गरेको जेमन्त नै लोकतन्त्र हो ।
समयले भनिरहेको छ– हाँक्ने रथीहरु भ्रष्ट भए, भिजनहीन भए, बेइमान भए, जनताप्रति जवाफदेही भएनन् । योग्यता, पारदर्शिता र जिम्मेवार बन्न नसकेपछि नेताले व्यवस्थालाई कसरी अलोकप्रिय बनाउने रहेछ, पर्दा खुलिसकेको छ । अब पनि सचेत नहुने हो भने अर्को जनसुनामीलाई रोक्न सकिने छैन ।

देश गरीब छ, गरीब देशका नेताहरु सर्वहाराको, सिमान्तकृत बर्गको, निसहायको परमेश्वरका रुपमा उदाएका थिए, १५ वर्षमा ती राक्षसी प्रवृत्तिका कारण जनताका सहायकसम्म बन्न सकेनन् । गरीब देश र गरीव जनताको चरम शोषण गरेर जति पनि नेता, तिनका परिवार र तिनका वरिपरिका प्रभावशाली व्यक्तिहरु छन्, ती सबै आज लखपति, करोडपति, अर्वपति बनिसके । १५ वर्षमा आएको लोकतान्त्रिक परिवर्तन यही हो ।

जनताको जनजिविका र राष्ट्रका आधारहरु खस्किदै र कडीहरु खुस्किदै गएका छन् । यसको जिम्मेवारी आजका नेताहरुले लिनुपर्छ । जनताले कुनै दिन कसी घसे भने यी नेताहरु पत्रु सावित हुनेछन् । जनताले नै दण्ड दिने दिन आउनेछ । हालैका दिनमा अफगानिस्तानमा के भयो ? अफगानिस्तानमा ठूलो परिवर्तन आयो । तालिवानले स्थापित सत्तालाई लखेट्यो, निर्वाचित राष्ट्रपतिले देश छाडेर भाग्नुप¥यो । त्यो देख्दादेख्दै पनि हाम्रा निर्वाचितहरु इतिहासबाट शिक्षा लिइरहेका छैनन् । मानौं, उनीहरु आफैमा ती घटनाक्रम होस् भनेर प्रतिक्षा गरिरहेका छन् ।

हाम्रो मूल प्रश्न हो– नेपाल बाँच्ने कसरी, नेपालीत्व बचाउने कसरी ? प्रत्येक नेपालीले आज सोच्नैपर्ने विषय यही हो । वीरले देश बनाए, बचाए, आजको नेतृत्व पुस्ता देश डढाएर आगो ताप्दैछ, खरानी बेचेर सम्पन्न हुँदैछ । यो अग्रगमन होइन । यो त परिवर्तित सभ्यतालाई चुनौति हो । अतिवर्षा भयो भने बाढीले आफ्नो नियति आफै तय गर्छ । नेपालको परिस्थितिमा जनबाढी आउन थालेको छ, बढ्दैछ । नेपाल यथार्थमा ज्वालामुखीमाथि खडा देखिन्छ ।

हाम्रा नेताहरुले न त १९७५ को सिक्किम पढे, न त फिजी । लोकतन्त्र अराजक भीड र अराजक भीड अराजक होडबाजी गरिरहेका छन् । माछा मार्न फिजी पुगेको व्यक्ति १८ वर्षमै फिजीको प्रधामन्त्री कसरी बन्यो, उनको नाम हो महेन्द्र चौधरी । यत्ति कुरा पनि नेपालका नेताले हेक्का राख्न सकेनन् । यसकारण यो नेतृत्व असफल छ, अज्ञानी छ, अयोग्य छ ।

यस्ता असफल नेताहरु वीरनरसिंह कुवर जो १९०३ को कोतपर्व गरेर श्री ३ जंगबहादुर राणा बने, तिनकै पदचिन्हमा हिड्नेहरु छन् । ती त चलाख थिए, वीर थिए । यी न स्वार्थी छन्, विदेशीका सामु लगलग खुट्टा कमाउनेहरु छन् । यी के जंगबहादुर बन्लान् ? यिनले जानेको लोकतन्त्रको जामा लगाएर लाखे नाच्नु हो । लाखे नाच्नु भनेको जात्रा मात्र हो ।

नेपालमा परिवर्तन कसरी आयो ? जनयुद्ध र जनआन्दोलनको सत्य के हो, उजागर भइसकेको छ । जनयुद्ध भारतको प्रोक्सी वार रहेछ, जसले नेपाली राष्ट्रवाद कमजोर बनाएर तारेभीरमा पु¥यायो । जनआन्दोलन भारतकै जोडबलले भएको रहेछ, जसले लोकतन्त्र त ल्यायो, लोकतन्त्रका मानसिक असन्तुलन भएका चालकहरुमार्फत नेपालको अस्तित्व संकटमा पारिसकेको छ । बुझ्नेहरु चिच्याइरहेछन्, राजनीतिमा परिपक्वता आएन । परराष्ट्रनीतिमा फितलोपन भयो । इतिहासले अनेक चुकहरु टिपिरहेको छ । ती चूकहरु दोहोरिनु भनेको अस्तित्व संकटमा पर्नु हो । जनतालाई पार्टी पार्टीमा बिभक्त गर्नेहरु आफै शक्तिशाली भएको आत्मरतिमा छन् । आत्मरति वीरता होइन, पलायन हो । कर्तव्यच्यूत हो । कर्तव्यच्यूतहरु वीर हुनसक्दैनन् । लोकतान्त्रिक पनि हुनसक्दैनन् । अकर्मण्यहरुको इतिहास भनेको कालो नै लेखिन्छ ।

नेपाली नेताको चरित्रअनुसारको एउटा चल्तीको कथा यस्तो छ–
सर्पले टोकेको मान्छेलाई घाट पु¥याउनासाथ स्यालले देखेछ र आएर सुझाव दियो– सर्पले टोकेको लाश पोल्न हुन्न । गाड्नुपर्छ । सर्पले टोकेको लाश बौरिन पनि सक्छ, कुर्नुपर्छ, साँझासम्म पख्नुस् है । मलामीलाई यो सुझाव ठिकै लाग्यो ।
स्याल गयो, गिद्ध आयो । त्यो स्याल धुृर्तछ, त्यसको कुरा नपत्याउनुस् है । साँझ परेपछि लाश तान्ने सुर छ त्यसको । त्यसैले लाशलाई खोलामा बगाइदिनोस् । मरेको मान्छे बौरिने कुरा बेकार हो ।गिद्ध गयो, झाडीमा लुकेको स्याल फेरि आयो र भन्यो– पानीमा बगेको लाश लुछ्ने दाउ छ है त्यसको, बुझ्नोस् । शब बगाउनु हुन्न, गाड्नैपर्छ ।मलामीहरु ट्वाँ परे, के गर्ने के नगर्ने ?
यस्तै छ नेपालको लोकतन्त्र ।

जसरी पनि जनताको आँखामा छारो हाल्ने हो, भ्रममा पार्ने हो र जनतालाई जिल्याएर गिद्ध र स्यालले लाश लुछ्ने अक्किल निकालेझैं देश र लोकतन्त्रको आवरणमा लुट्नुसम्म लुट्ने काम भइरहेको छ । अत्याचार, दूराचार, तस्करी, भ्रष्टाचार जे गरे पनि लोकतन्त्रको नारा लगाएर भइरहेका छन् । सार्वभौम जनताको कुनै भाउ छैन ।नेताहरु दस्ता बनाएर भोटको राजनीति गर्छन् । गरीवलाई पेलेर लोकतन्त्रको बठ्याइँ गर्छन् । सर्वहारा, सिमान्तकृत जनताको पक्षमा कोही उभिन तैयार छैनन् । सबैलाई काजु खाएर ¥याल काढ्नकै हतारो छ । सत्ताका लागि नेता नेता, पार्टी पार्टी र अन्तरपार्टी बिग्रहसमेत झिंझाका डाँकाहरुको नियतिमा देखिन थालेका छन् ।

footer