kumari
stcnepal

नेपाल समाजवादी पार्टीले अध्यक्ष बाबुराम भट्टराईको नेतृत्वमा पार्टी एकता संयोजन समिति गठन गर्यो

काठमाडौं । नेपाल समाजवादी पार्टीले अध्यक्ष बाबुराम भट्टराईको नेतृत्वमा पार्टी एकता संयोजन समिति गठन गरेको छ । बुधबार पार्टी केन्द्रीय समितिको चौथो बैठकले अध्यक्ष भट्टराईको संयोजकत्वमा अर्का अध्यक्ष महिन्द्र राय यादव, सहध्यक्ष गंगानारायण श्रेष्ठ, उपाध्यक्ष दुर्गा सोव, महासचिव रमेशप्रसाद यादव, कार्यकारिणी सदस्य जनकराज शाह रहने पार्टी एकता/ध्रुवीकरण संयोजन समिति बनाउने निर्णय गरेको हो ।

बृहत् समाजवादी केन्द्र निर्माणका लागि नेकपा (माओवादी केन्द्र) लगायतका विचार, राजनीति मिल्ने राजनीतिक शक्तिहरूसँग एकता/ध्रुवीकरण गर्दै जान पार्टी अध्यक्ष भट्टराईको संयोजकत्वमा समिति गठन गरेको हो । गत शुक्रबार प्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले डा. भट्टराईलाई बोलाएर आफूहरुकै नेतृत्वमा पार्टी एकता समायोजन समिति बनाउन प्रस्ताव गरेको थियो । त्यसको दुई दिनपछि ३ मंसिरमा बसेको दुबै दलको वार्ता टोलीको बैठकले पनि पार्टी एकता समायोजन समिति बनाउन सुझाव दिएको थियो ।

नेताहरुका अनुसार डा. भट्टराई माओवादी केन्द्रसँग एकता गरिहाल्ने पक्षमा थिएनन् । उनले वार्ता समिति भंग गर्नुका साथै केन्द्रीय समिति भंग गरेर महाधिवेशन आयोजक समिति बनाउने प्रस्ताव कार्यकारिणी बैठकमा समेत राखेका थिए । तर अर्का अध्यक्ष महिन्द्रराय यादव, सहअध्यक्ष गंगानारायण श्रेष्ठसहितका नेताहरु माओवादीसँग एकता गर्ने पक्षमा उभिए । पार्टी एकता गर्ने निर्णय गर्दै समायोजन समिति बनाउने निर्णय नगर्ने भए केन्द्रीय समितिमै नआउने चेतावनी दिएपछि डा. भट्टराई हच्किए । सोमबार साँझ भएको शीर्ष नेताहरुको छलफलमा पार्टी एकताको निर्णय गर्न सहमत भएका थिए । मंगलबार कार्यकारिणी बैठकले नेताहरुबीच भएको सहमतिअनुसार भट्टराईको नेतृत्वमा पार्टी एकता समायोजन समिति बनाउने निर्णय गरेको छ ।

अब माओवादीले पनि प्रचण्डको नेतृत्वमा पार्टी एकता समायोजन समिति बनाउने छ र दुई समितिबीच वैचारिक तथा नीतिगत विषयमा छलफल गर्नेछ । साथै माओवादीले विशेष महाधिवेशन गरेर पार्टीको नाम परिर्वतन गरेपछि एकता हुने नेताहरु बताउँछन् । यस्तै नेसपा बैठकले संगठन निर्माण तथा बिस्तार अभियानको समयावधि २ महिना थप गरी फागुन मसान्तसम्म पुर्‍याउने निर्णय गरेको छ । अभियानका क्रममा सबै स्थानीय तहहरूको बैठक, समिति गठन र पुनर्गठन पुस मसान्तसम्म गरिसक्ने निर्णय गरेको छ । त्यसअघि मङ्सिर–पुसमा वडा र पालिकाहरूको भेला, सम्मेलन सम्पन्न गर्ने भएको छ । माघ–फागुनमा प्रदेशको सम्मेलन सम्पन्न गर्ने र बैशाखमा राष्ट्रिय सम्मेलन सम्पन्न गर्ने बताएको छ ।

footer