kumari
stcnepal

पूर्वराजा ज्ञानेन्द्र शाह झापामा, राजावादी पक्षले मोटरसाइकल र्‍याली सहित लैजाने तयारी

विराटनगर । पूर्वराजा ज्ञानेन्द्र शाह पक्षले शनिबार झापामा अघोषित रुपमा शक्ति प्रदर्शन गर्ने भएको छ । पूर्व राजा ज्ञानेन्द्र शाह शनिबार झापाको विर्तामोडमा एउटा कलेजको उद्घाटन कार्यक्रममा सहभागि हुँदैछन् । उनी झापा आएको समयमा राजावादीले शक्ति प्रदर्शन गर्न लागेका हुन् । शनिबार दिउँसो शाहले झापाको विर्तामोडको रामचोकमा रहेको इकम कलेज र कलेजमा निर्माण गरिएको पूर्वराजा पृथ्वीनारायण शाहको शालिक अनावरण गर्ने कार्यक्रम छ ।

काठमाडौँमा दुर्गा प्रसाईंले राजाको पक्षमा शक्ति प्रदर्शन गरिरहेका छन् । प्रसाईंको प्रदर्शन चलिरहेका बेला झापामा औपचारिक कार्यक्रममा शाह सहभागि हुन लागेका हुन् । पूर्व राजा शाहलाई नागरिकतहबाट स्वागत गर्ने तयारी भइरहेको राप्रपा कोशी प्रदेश अध्यक्ष राम थापाले बताए । काठमाडौँबाट आज आएका शाह होटल मेची क्राउनमा बस्नेछन् । शनिबार होटलबाट कार्यक्रम स्थलसम्म राजावादी पक्षले मोटरसाइकल र्‍याली सहित लैजाने तयारी रहेको थापाले बताए ।होटलमा पनि उनले आफ्ना समर्थकसँग भेटघाट गर्नेछन् । ‘पार्टीबाट होइन नागरिकको तहबाट स्वागत गर्ने तयारी छ,’ उनले भने, ‘होटलदेखि कार्यक्रम स्थलसम्म मोटरसाइकल र्‍यालीसहित उहाँलाई ल्याउने तयारी छ ।’ उनका अनुसार र्‍याली र पूर्व राजाको स्वागतमा राष्ट्रीय झण्डा प्रदर्शन हुनेछ ।

शनिबार दिउँसो १ बजे कलेजको उद्घाटन पछि शाह दमक स्थीत आफ्नो निवासमा आउनेछन् । आइतबार उनी काठमाडौँ फर्कने जानकारी आएको झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले जानकारी दिए । कलेज र शालिकको उद्घाटन गर्न आउने पूर्व राजा शाहले सम्बोधन गर्ने कुनै कार्यक्रम नरहेको उनले बताए । ‘उहाँले सम्बोधन गर्ने कार्यक्रम नरहेको व्यवस्थापनले जानकारी गराएको छ,’ उनले भने,‘होटलबाट कार्यक्रमस्थलसम्म मोटरसाइकल ¥याली निकाल्ने जानकारी आएको छ ।’

पूर्वराजा आउने र उनी पक्षधरले शक्ति प्रदर्शन गर्ने तयारी गरेपछि स्थानीय प्रशासनले सुरक्षा सतर्कता अपनाएको छ । ‘काठमाडौँमा आफ्नो पक्षमा आन्दोलन चलिरहेका बेला एउटा कलेजको उद्घाटन सहभागि हुन आउने एउटा बाहाना मात्रै हो,’ सुरक्षा स्रोतले भन्यो,‘ कलेजको उद्घाटन गर्ने भन्दापनि शक्ति प्रदर्शन गर्ने उदेश्य देखिन्छ ।’

footer