kumari
stcnepal

धडपकडको सर्वत्र बिरोध, किन पक्राउ गर्नु पर्यो प्रहरीसँग जवाफ छैन

काठमाडौँ – व्यवसायी दुर्गा प्रसाईं समर्थकले शुक्रबार पनि प्रर्दशन गर्ने तयारी गरेपछि प्रहरीले काठमाडौँका ठाउँठाउँबाट मानिसहरुलाई पक्राउ गरेको छ। विशेष गरी तीनकुने क्षेत्रमा प्रर्दशनका लागि पुगेका व्यक्तिहरुलाई नियन्त्रणमा लिएर गौशाल पुर्‍याएको प्रहरीले बाटो हिँड्नेलाई समेत समातेको आरोप सर्वसाधरणले लगाएका छन्। आन्दोलन र प्रर्दशनसँग कुनै चासो नै नभएका बाटो हिँड्ने युवा, युवतीदेखि बयोवृद्धसम्मलाई प्रहरीले नियन्त्रणमा लिएर दुःख दिएको भन्दै सामाजिक सञ्जालमा आक्रोश पोखेका छन्।

उनीहरुले सरकारको यस्तो रवैया ठीक नभएको भन्दै हिँड्न पाउने नागरिकको अधिकारप्रति सचेत हुन माग गरेका छन्। कांग्रेस केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले दौरा सुरुवाल लगाएर हिँडेका ८३ वर्षीय वृद्धलाई समेत प्रहरी नियन्त्रणमा लिएको भन्दै आक्रोश पोखेका छन्। उनले नियन्त्रणमा लिएका खड्गप्रसाद शिवाकोटीको फोटासहित फेसबुकमा भनेका छन्, ‘दौरासुरुवाल कोट लगाएकै भरमा पक्राउ गर्ने हो भने बेलाबेलामा दौरा सुरुवालमा देखिने प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठजी तपाईंहरुलाई किन हिरासतमा नलिने? होइन भने दौरासुरुवाल कोट लगाएर बाटोमा हिडेकै भरमा पक्राउ गरिएका ८३ वर्षीय खड्ग प्रसाद शिवाकोटीलाई तत्काल ससम्मान रिहाइ गर। नागरिकलाई सिष्टम प्रतिको थोरै बाँकी बचेको विश्वास गुम्न नदेऊ।’

नेपाल बारका पूर्वमहासचिव लिलामणि पौडेलले लुगा लगाएकै भरमा पक्राउ गरिएको भन्दै असन्तुष्टि जनाए। ‘म अधिकांश दिन दौरा सुरुवाल लगाउँछु, लुगा लुगाएकै भरमा पक्राउ परिएला कि भन्ने डर पो भयो। मन परेको लुगा नि लाउन नपाउने? कि नाङ्गै हिँड्नु पर्ने हो, सरकार?’ नेपाल पत्रकार महासंघका पूर्व सभापति तारानाथ दाहालले शान्तिपूर्ण जुलुस लगाउनेहरुलाई फक्राउ गर्नुपर्ने अवस्था किन आयो भन्दै प्रश्न गरेका छन्। ‘संसदीय लोकतन्त्र, गणतन्त्र, संघीयता, धर्म निरपेक्षता, समावेशी अवसरजस्ता आधुनिक र लोकप्रिय राजनीतिक प्रबन्धहरुले आम मानिसलाई किन यति चाँडै निराश बनायो?,’ दाहालले अगाडि भनेका छन्,‘किन यो व्यवस्थाविरुद्ध नै राजधानीका सडकमा नारा लागे? किन शान्तिपूर्ण जुलुस लगाउनेहरुलाई पक्रन पर्ने दिन आयो? सामान्य होइन।’

सरकारको निर्देशनमा प्रहरीले प्रदर्शनकारी र सर्वसाधरणमाथि गरेको धरपकडको राष्ट्रिय मानव अधिकार आयोगले विरोध जनाउँदै यस्ता गतिविधि सच्याउन आग्रह गरेको छ। आयोगले शुक्रबार विज्ञप्ति जारी गर्दै प्रदर्शनका लागि तीनकुने पुगेका प्रसाईं समर्थकलाई प्रहरीले प्रदर्शनमा रोक लगाएको जनाएको हो।आयोगले नागरिकको अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न र प्रदर्शनमा अनावश्यक धरपकड नगर्न सरकारसँग आग्रह गरेको छ। आयोगले भनेको छ, ‘नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्दै प्रदर्शनकारीहरुमाथि अनावश्यक बल प्रयोग र धरपकड नगर्नसमेत आयोग नेपाल सरकारलाई आग्रह गर्दछ।’

प्रसाईंलाई सरकारले ‘नजरबन्द’ राखेको सार्वजनिक भएपछि आयोगको टोलीले शुक्रबार दिउँसो भक्तपुरस्थित प्रसाईंको घरमा अनुगमनसमेत गरेको छ। यस्तै, राप्रपाले संविधानप्रदत्त अधिकारको उपभोग गर्दै शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका नागरिकमाथि भएको प्रशासनिक दमन, धरपकडको भर्त्सना गरेको छ। ‘प्रशासनको निशानामा राप्रपाका नेता, कार्यकर्तालाई पारिनु, प्रदर्शनमा सहभागी नभएकालाई समेत खोजीखोजी पक्राउ गरिनु दुखद, आपत्तिजनक र विडम्बनापूर्ण छ,’ राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले विज्ञप्तिमार्फत भनेका छन्, ‘आफ्ना मागहरु लिएर सडकमा ओर्लिएकालाई घरमा नजरबन्द गर्ने, प्रदर्शनस्थलमा पुग्नुअगावै सुरक्षाकर्मीले कार्यक्रमस्थलमा कब्जा जमाउने, घरघरमा पुगेर व्यक्ति व्यक्तिलाई पक्राउ गर्ने, सडकपेटीमा हिँडिरहेका नागरिकलाई बिना कारण जथाभावी गिरफ्तार गर्ने कार्य अलोकतान्त्रिक छ।’

जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी प्रवक्ता कुमोद ढुंगेलले शुक्रबार २६६ जनालाई नियन्त्रणमा लिइएको जानकारी दिए। उनले पक्राउ गरिनुको जवाफ आफूसँग नभएकाले माथिल्लो निकायसँग सोध्न आग्रह गरे। ढुंगेलले भने, ‘यो विषयमा माथिल्लो निकायमै सोध्नुहोस् न।’ तर प्रहरीका माथिल्लो तहका अधिकृत भने तल्लो तहलाई नै यस विषयमा सबै अधिकार दिएकाले तलै सोध्न भने। उपत्यका प्रहरी प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक देशराज मैनालीले यस विषयमा परिसरबाटै जानकारी लिन आग्रह गरे। प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायव महानिरीक्षक कुबेर कडायतले पनि उपत्यका प्रहरी कार्यालयबाट बुझ्न सुझाव दिए। उनले भने, ‘यसबारेमा हामीले उपत्यका प्रहरी कार्यालयलाई नै जिम्मेवारी दिएका छौँ, उतै सोध्नुहोस् न।’ गृह मन्त्रालयले भने धरपकडबारे केही बताएको छैन।

footer