kumari
stcnepal

आज छठ पर्व भव्य रुपमा मनाईदै

काठमाडौं । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा गरी मनाइँदै छ । अस्ताउँदो सूर्यलाई र भोलि उदाउँदो सूर्यलाई पूजा गर्ने प्रचलन छ । छठ पर्वको मुख्य दिन आज सरकारले सार्वजनिक विदा दिएको छ ।कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म सूर्यदेवको आराधना, उपासना र पूजा गरी मनाइने यो पर्व सोमबारदेखि सुरु भएको थियो ।

यसमा झुप्पा–झुप्पा फलहरू चढाउँदा सूर्य देवता प्रसन्न भई व्रतालुका कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता पाइन्छ । ब्रतालुहरु रातो, पहेँलो साडी र पुरुषले पहेँलो रङको धोती लगाउँछन् । त्यसैगरी तलाउ तथा जलाशयमा कम्मरसम्मको भाग पानीमा डुबाएर ध्यानपूर्ण मुद्रामा सूर्यतर्फ फर्केर आराधना गर्ने गर्दछन् । ब्रतालुले पूजास्थलमा गएर दूध चढाउँछन् । यस पर्वमा जो व्रत बस्न सक्दैन उसले अर्को व्रत गर्नेबाट कामना पूरा गराउने गर्छन् ।

आर्थिक अभाव भएका मानिस भिक्षा मागेरै भए पनि यो पर्व मनाउने गर्छन् । छठ पर्वमा व्रत गरेर सूर्यको पूजा गरे सन्तान सुख प्राप्त हुने र मनोकांक्षा पूरा हुने जनविश्वास छ । छठ पर्वको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुले शुभकामना सन्देश दिएका हुन् ।

 

footer