kumari
stcnepal

आजबाट छठ पर्व सम्पन्न

काठमाडौँ – सूर्यदेवको श्रद्धा भक्तिपूर्वक आराधना र पूजा गरी मनाइने छठ पर्व आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि सम्पन्न भएको छ ।कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको पर्व सोमबारदेखि शुरु भएको हो । चतुर्थीमा स्नान गरी चोखो खाएर बसिन्छ । यस दिनबाट छठ पर्व नसकिएसम्म व्रतालुले माछा, मासु, लसुन, कोदो, फापर, मुसुरो, आदि नखाने विधि छ । कार्तिक शुक्ल सप्तमीका दिन अर्थात् आज बिहान उदाउँदो सूर्यलाई पूजासहित अर्घ्य दिएपछि यो पर्व सम्पन्न भएको हो ।मनोकाङ्क्षा पूरा हुने विश्वासमा विशेष गरी महिलाले छठमा कठोर व्रत गर्ने गर्छन् । विशेष गरी तराईमा मनाइने मिथिला संस्कृतिमा आधारित छठ पर्व विसं २०४६ पछि काठमाडौँलागायत पहाडी क्षेत्रमा समेत मनाउन थालिएको हो ।

विसं २०६३ पछि भने काठमाडौँको थापाथली, गौरीघाट र रानीपोखरीमा पनि विशेष महत्वका साथ मनाउन थालियो । भूकम्पले क्षतिग्रस्त रानीपोखरी पुनःनिर्माणपछि भने यहाँ छठ मनाउन रोक लगाइएको छ ।बेहुलीझैँ सिँगारी राजधानीका गौरीघाट गुह्येश्वरी क्षेत्र, कमलपोखरीलगायत स्थानमा छठ मनाइएको छ । यी स्थानमा आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिई छठ सम्पन्न भयो । बर्तालुले जलाशयमा डुबी सूर्यदेवसहित नदीको पूजा आराधना गरी उदाउँदो सूर्यलाई अर्घ्य दिइएको हो । बुधबार बेलुकी अस्ताउँदो सूर्यलाई जस्तै आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिन पनि हजारौँ व्रतालुको भीड लागेको थियो ।

कमलपोखरीमा भने यस वर्ष काठमाडौँ महानगरपालिकाको व्यवस्थापनमा छठ पर्व सम्पन्न गरिएको छ । उदाउँदो सूर्यलाई गाईको दूध, फूल र जलले अर्घ्य दिएपछि छठ सम्पन्न हुने धार्मिक विधि छ । यसरी घाटमा गरिने पूजालाई भिन्सरघाट भनिन्छ । बिहानै घाटमा गरिने पूजा भएकाले भिन्सरघाट भनिएको हो । सूर्योदयकालमा अर्घ्य दिई सूर्यको दर्शन गरेपछि छठ पूजा सकिन्छ । सूर्यको दर्शन गर्दा भक्तहरु लुगा सहित कम्मरसम्मको पानीमा डुबेर सूर्य दर्शन गर्ने विधि छ ।

footer