kumari
stcnepal

गाँठी कुरो नेतृत्वमा स्वाभिमान नहुनु नै हो

राजन कार्की
हामी असरल्ल हुनुको कारण, संविधान असहाय हुनुको कारण हामी आफै हौं, हाम्रो असफल नेतृत्व हो । गाँठी कुरो नेतृत्वमा स्वाभिमान नहुनु होइतिहासविदहरुले जति बुझाए पनि नेतृत्व बुझ्नै चाहदैन । गजडी झैं सत्ताको नशा र भ्रष्टाचारको भाङ खाएकाहरु देश बुझ्दैनन्, स्वाधीनता देख्दैनन्, स्वाभिमानी बन्नै चाहदैनन् । आधुनिक नेपाल कुनै सङ्घर्ष नगरी निर्माण भएको मुलुक होइन । हाम्रा पुर्षाहरुले मातृभूमिको अस्तित्वरक्षाका लागि ब्यापक बलिदान दिएका छन् । आधिकारिक रुपमा नेपाल अधिराज्यको गठन सन् १७६८ मा भएको मानिन्छ । त्यतिबेला भारत भन्ने देश नै थिएन । भारत त सन १९४७ मा स्वतन्त्र भएको हो ।

हो, नेपाल मण्डलमा अनेक साना ठूला राज्यहरु थिए । अनेक जातजातिहरु थिए । अचम्म, त्यतिबेला पनि जातीय सद्भाव र सम्पर्क सूत्रमा बाँधिएकै थिए । गोरखामा सन १७२३, जनवरी ११ मा जन्मिएका पृथ्वीनारायण शाह सन १९४३, अप्रिल ३ मा २० वर्षकै उमेरमा राजा बने । एकीकरणका यी महामनाको सन १९७५, जनवरी १५ मा देवीघाटमा अन्त नभएसम्मको अवधिमा नेपाल अधिराज्य बन्यो । यो एकीकरण अभियान वास्तवमा जातजाति, भाषाभाषी, सांस्कृतिक स्वरुपको पनि एकीकरण थियो । यही अजेय र अद्वितीय एकीकरणको उज्यालोमा गोर्खाको वीरता पनि विश्वव्यापी हुँदै गएको हो ।

नियतिले नेपालको अवस्था घाट पु¥याएको अथवा ब्रम्हनालमा सुताएको बिरामीको जस्तो छ । तथापि पृथ्वीनारायण शाहले रोपेको इमानको जरा उखेलिएको छैन । ठूटो भए बुटो पलाउँछ, जरा भए बिरुवा उम्रन्छ । इमानको जराबाट नेपाल लहलहाउँछ भन्ने आशा छ यद्यपि राजनीति जतिसुकै बिकृत, असंस्कृत, असान्दर्भिक र असभ्य भए पनि । ऐनाजस्तो कञ्चन पानी बग्ने बागमतीलाई ढलमती बनायौं, कुनै दिन त हामीलाई चेत फिर्ला, आफैसँग लज्जाबोध होला र मती फिर्ला ।

गौरवशाली देशले सधैं जनतालाई हे¥यो, जनताले जनप्रतिनिधिलाई हेरे । तर, बेला बेलामा खड्ग उठिरहे, खड्गो परिरह्यो । कुनै पनि दिन देशका लागि शुभ दिन हुनसकेको छैन । हामी चारखुट्टे बाँदरबाट दुई खुट्टा टेक्ने मान्छे त बन्यौं, विवेकशील किन बन्न सकेनौं । हामीमा नेपालीत्वप्रतिको इमान र नैतिक मूल्य किन ढल्दै गएको हो ? समयले खडा गरेको यो यक्ष प्रश्न हो ।

एउटा घटना छ विश्वप्रसिद्ध धनाध्य रकफेलर र मगन्तेको । रकफेलर घुम्दै आउँदा बाटोमा आँखा चिम्लेर घाम तापिरहेको एउटा व्यक्ति देखेर जङ्गिए– काम नपाएको मान्छे । मगन्तेले आँखा खोलेर हे¥यो र फेरि आँखा चिम्लियो । रकफेलर फेरि जङ्गिए– चिनिनस्, म रकफेलर । उसले आँखा नउघारिकनै भन्यो– चिनें, तिमी धनाध्ये रकफेलर भएर के भयो त ? मेरा लागि त तिमी गरीव हौ ।
रकफेलरले जिल्ल पर्दै भन्यो– कसरी गरीव ? मगन्तेले भन्यो– रकफेलर, तिमी संसारको सबैभन्दा गरीव हौ । दरिद्र सोच छ तिम्रो । तिमी आधा छौ, तिमीलाई तिम्रो आत्माले छोडेको दिन तिमीलाई धनले जोगाउँदैन । माटो बन्छौ । अहंकार नगर । धनी त म हुँ । मलाई सन्तोष छ । म विहानी सूर्यको ताप लिइरहेछु । म र प्रकृतिवीचको मीठो सम्बन्ध छ, बाधा नहाल । यस्तो कुरा सुनेर रकफेलर टोलाउँदै घरतिर लाग्यो ।

अर्थात्, मान्छे केको लागि दगुर्छ ? आत्मसुख, आत्मतुष्टी र आत्मशान्तिको लागि ? कि व्यापक पैसा र अपार शक्तिका लागि ? के हाम्रा नेताहरु अति स्वार्थी महत्वकांक्षाका लागि दगुरिरहेका छैनन् ? के यिनले बाइसे र चौबिसे राज्यको कान्छो राज्य गोर्खा थियो र यो १६१६ मा द्रव्य शाहबाट सुरु भएर नेपाल राज्यमा कुन दुःखले आर्जित भयो भन्ने इतिहास पढेका छन् ?
स्वामी बिवेकानन्दले भनेका थिए– जनता नभएको देश हुन्न, जनताको डर जहिले पनि नेतृत्वमा हुनुपर्छ । जनताको भयले नेतालाई सत्मार्गमा लगाउने गर्छ । कौटिल्यले सामाजिक संस्थाहरु जहिले पनि जनताको भयबाट त्रसित हुनुपर्छ भने । डार्बिनको सिद्धान्तले पनि एकतामा शक्ति र अनेकतामा समाप्ति हुन्छ भनेको छ ।

तेस्रो शताव्दि बीसीमा चीनका प्रशासक र पछि गुरु बनेका कम्फुसियसलाई चेला राजकुमारले सोधे– राजकाजका अपरिहार्य तीन तत्व के हुन् ? गुरुले भने– सेना, जनतालाई राहत र सरकारप्रति जनविश्वास । यी तीन मध्ये एउटा हटाउनु परे कुन हटाउने ? राजकुमारको प्रश्नमा कन्फुसियसले भने– आधा पेट खाए पनि राज्यप्रति जनविश्वास छ भने राज्य चल्छ । बाह्य खतरासँग जनता आफै लड्छ । बाँकी दुई तत्वमा एक तत्व छाड्नु पर्ने अवस्थामा कुन तत्व त्याग गर्ने ? गुरुले जवाफ दिए– खाने कुरा चाहिंदैन । मान्छे खाए पनि मर्छ, नखाए पनि मर्छ । राज्यप्रति जनविश्वास भएन भने राज्य नै ढल्छ । विश्वास राज्यको जग हो । यी आधारका सन्दर्भमा नेपाल अधिराज्यको अवस्था के छ ?

पृथ्वीनारायण शाहपछि र खासगरी आधुनिक नेपालमा उत्तरदायी र आत्मविश्वासी पृथ्वीराज चौहानजस्तो नेताको किन जन्मेनन् ? भेद समाप्त पार्न नेल्सन मण्डेला दक्षिण अफ्रिकामा जन्मिए । ३० वर्षको काराबासपछि निस्केका काला मण्डेलासँग गोराहरुले गर्ब गर्दै हात मिलाए । गजबको मानसिक परिवर्तन हो त्यो । राजा महेन्द्रले २०१७ सालदेखि २०२८ सालको अवधिमा देशमा विकास र विश्वमा इज्जत स्थापित गरे । त्यो विकास र इज्जत च्यात्ने प्रतिस्पर्धा छ । चमत्कार हुन्छ भन्नेहरुको गजबको बाँदर चरित्र हो यो ।
हाम्रो नेतृत्व सीमा मिच्नेसँग भिड्न सक्दैन, चिर हरण गर्नेलाई दण्डित गर्न सक्दैन,। कमजोरलाई तर्साउने, मार्ने, शोषण गर्ने, कारवाही गर्ने र छल र बल देखाएर राज्य ढुकुटी लुट्ने राजनीतिले आफूलाई राष्ट्रवादी दावी गरिरहेको छ । राष्ट्रवाद विदेशी चलखेल र अतिक्रमणमा लावारिस बन्दै गइरहेको छ । बेनिभोलेन्स नेतृत्व जन्म्यो भनेको त घरका भेदी पो जन्मिएको रहेछ । धुन्धुकारी ।

महाभारतको कथामा श्रीकृष्ण भगवानको छातीमा व्याधाको तीर लागेर लड्नासाथ महारथी अर्जुनको काँधबाट गाण्डिव फुत्रुक्कै खसेको प्रसङ्ग छ । त्यो देखेर श्रीकृष्णले अर्जुनलाई भने– पार्थ आफै शक्तिशाली बन्ने साहस गर । सत्य यही थियो र यही हो ।
हाम्रा नेताहरु ब्याधाको तीर लाग्नु अघिको अर्जुनजस्तै महारथी हुन् । अर्जुनलाई श्रीकृष्णको बरदान थियो, हाम्रा नेताहरुलाई विदेशीको धाप र आशीर्वाद छ । यी आफैमा महारथी होइनन् । यिनले स्वाधीन शक्तिशाली बन्ने चेष्टा कहिल्यै गरेनन् । यीभन्दा दयापात्र अरु को हुनसक्छ ? चिन्ता देशको छ, देश नमरोस् । नेपाल बाँचिरहोस् ।

footer