kumari
stcnepal

प्रज्ञा प्रतिष्ठानले दिने साहित्यकार परिचयपत्र

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले (हिजो )आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाको हातबाट संस्कृतिविद् सत्यमोहन जोशी, साहित्यकार बैरागी काइँला लगायतलाई ‘लेखक–साहित्यकार परिचयपत्र’ हस्तान्तरण गर्दै परिचयपत्र वितरण कार्य शुरु गरेको छ ।

प्रतिष्ठानले कार्यविधि नै बनाएर सरकारी मान्यता दिँदै देशभरिका लेखकलाई परिचयपत्र वितरण गर्न थालेको यो पहिलो पटक हो । यता साहित्यकारलाई सत्ताको बाहुलीबाट परिचयपत्र दिन लागिएको भन्दै प्रगतिशील लेखकहरूले भने यसको विरोध गरेका छन् । लेखक खगेन्द्र संग्रौलाले सत्ताको हातबाट सािहत्यकारलाई परिचयपत्र दिएर प्रज्ञाले साहित्यकारको चेतनामाथि नै व्यंग्य गरेको प्रतिक्रिया दिँदै कटाक्ष गरेका छन् ।संग्रौलाले लेखेका छन्, ‘ल हेर ! शासकका बाहुलीबाट लेखक परिचयपत्र वितरण गर्न थालिए छ । आफू त एकबारको जुनीमा सत्ताछापे लेखक नभई मर्ने हो ।’

लेखक राजेन्द्र महर्जनले सत्ताले दिने लेखकको परिचय कदापि स्वीकार्य नहुने प्रतिक्रिया दिएका छन् । ‘यो लेखकको सत्वलाई गरिएको अनादर हो,’ महर्जनले भने, ‘प्रज्ञा प्रतिष्ठानले प्रशासनिक कार्य सजिलो होस् भनेर परिचयपत्र वितरण गरेको भएपनि यसले लेखकहरुबीच वर्ग सिर्जना गरेको छ । सत्तासँग को लेखक नजिक छ भन्ने देखाउन समेत यसले काम गर्छ ।’

साहित्यकार राजन मुकारुङ पनि राज्यले परिचयपत्र दिँदैमा कोही व्यक्ति लेखक नहुने बताउँछन् । मुकारुङका अनुसार पाठक, जनता र समुदायले नै कुनै पनि व्यक्तिलाई लेखक बनाउँछ ।

‘फारम भरेर आवेदन दिई पुरस्कार लिने परम्परा विगतमा पनि थियो । त्यही शैलीको सिको गरेर लेखक साहित्यकार परिचयपत्र दिन खोज्नु सिर्जनशीलताको उपहास हो,’ मुकारुङले भने ।

क–कसले पाउँछन् ‘लेखक साहित्यकार परिचयपत्र’ ?

नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव जगतप्रसाद उपाध्यायका अनुसार २०७५ सालदेखि नै साहित्यकार परिचयपत्र वितरण कार्यविधि बनाउने काम शुरु भएको थियो । त्यतिबेला साहित्यकारको वर्ग छुट्याएर परिचयपत्र दिने भनिएपनि त्यसो गर्दा वर्गीय भिन्नता देखिने भएकाले सबैलाई एकै प्रकारको परिचयत्र वितरण गर्ने निर्णय गरिएको हो ।

‘अहिले हामीले नेपाल प्रज्ञा प्रतिष्ठान लेखक साहित्यकार परिचयपत्र कार्यविधि २०७७ बनाएका छौं,’ उनले भने, ‘त्यही कार्यविधि अनुसार भाषा, साहित्य, संस्कृति, दर्शनशास्त्र र सामाजिकशास्त्रमा काम गरेका लेखकको यदि एउटा पुस्तक प्रकाशन वा राष्ट्रिय अन्तर्राष्ट्रिय अनुसन्धानमूलक लेख प्रकाशित छ भने उसलाई परिचयपत्र दिइन्छ ।

लेखकले आफ्नो विवरण भरेर आवेदन दिएपछि मात्र त्यो लिन पाइने प्रावधान बनाइएको छ । अहिले अनलाइनबाट फारम भर्ने व्यवस्था गरिएपनि फारम भरेपछि सिफारिस समितिले कुलपति समक्ष सिफारिस गर्नुपर्छ । यसपछि मात्र नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपतिको हस्ताक्षरसहितको परिचयपत्र प्राप्त हुन्छ ।

परिचयपत्रमा लेखक–साहित्यकारका नाम–उपनाम, नागरिकता नम्बर, जिल्ला, जन्ममिति, विषय क्षेत्र र विधा खुलाइने छ । परिचयपत्रकै लागि नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिवको संयोजकत्वमा ‘लेखक साहित्यकार परिचयपत्र सिफारिस समिति’ बनाइएको छ । अहिले जगतप्रसाद उपाध्याय नै परिचयपत्र सिफारिस समितिका संयोजक छन् । जुन समितिले कुलपतिसमक्ष लेखक सिफारिस गरेपछि मात्र परिचयपत्र दिइन्छ ।

प्रज्ञा प्रतिष्ठानले अनलाइनबाट नै परिचयपत्रका लागि फारम भर्न मिल्ने बताएपनि नयाँ वेबसाइट बनाउने भनेर अहिले चलिरहेको वेबसाइटमा फारम भर्ने व्यवस्था गरिएको छैन ।

यता सरकारी नियुक्तिका विभिन्न पदमा बसिसकेका साहित्यकारले भने प्रज्ञाको कामलाई स्वागत गरेका छन् । आइतबार नै प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँलाले लेखक साहित्यकार परिचयपत्र वितरण गरेर उपयोगी काम गरेको प्रतिक्रिया दिएका छन् । यस्तै नेपाल संगीत तथा नाट्य प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ ‘रायन’ र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्यले शुभकामना व्यक्त गरेका छन् ।

footer