kumari
stcnepal

लोकतान्त्रिक भनेर नाङ्गै हिड्छन् नागाहरू

 

राजन कार्की
देशमा सबै छ । थिति छैन । विधि छैन । कुनै नेता जिम्मेवार छैनन्, जवाफदेहीता लिदैनन् । परिवर्तनअघि के बिग्रेको थियो, परिवर्तनपछि के सच्चियो ? समयचक्र हो, परिवर्तन भयो, परिवर्तनपछि देश र जनताले के पाए ? के पाएका थिएनन्, अहिले के पाएर समृद्ध नेपाल र सुखी नेपाली भए ? यसको समीचिन जवाफ दिने जिम्मेवार नेतृत्व खडा भएर बोल्नै सक्दैन । मानौं, यो १५ वर्षमा शिखर नेतृत्व हड्डीविहीन थलथले भइसकेको छ । मेरुदण्ड नभएको तन्त्र कस्तो हुन्छ ?
गरीबीलाई आधार बनाएर गरीबी निवारण र नेपालमा रहेका अनेक कुरीति, अन्धविश्वास मेटाएर सशक्तिकरण र अग्रगमनतिर लैजाने नाममा उत्तर, दक्षिण, पश्चिम अथवा युरोपीय राष्ट्रहरूले नेपाललाई सहयोग गरिरहेका छन् । उनीहरूले स्वराज, डिप्लोमेसी, डिफेन्स, डेभेलपमेन्टका नीति नेपालमा स्थापित गरिरहेका छन् । ती शक्तिशाली मुलुकका रणनीति नेपालको भूराजनीतिमा कति मेल खान्छ, नेपालले तिनका रणनीतिलाई कति र कसरी धान्छ ? सिङ्गो मुलुक भूराजनीतिको गोलचक्करमा फसिसक्दा पनि बहस हुँदैन । कसैले चिन्ता गर्दैन । पहिरो नजाँदै छेकवार गरे पो बचिएला, पहिरो गइसकेपछि त थाप्लोमा हात राखेर पछुताउनु बाहेक के बाँकी रहला र ? बोल्दैन, विवेक छ, विवेकशील बोल्दैनन् ।
बुद्धि पनि पार्टीवादी छ । विवेक पनि पार्टीकरण भएको छ । बुद्धि त राष्ट्रका लागि, जनताका लागि, समाजका लागि हुनुपर्ने हो । आवाजविहीनहरूको आवाज भएर बोल्नुपर्ने हो । विवेक र बुद्धि नै पार्टीको झोला बोकेर प्रवक्ता बन्छ भने लथालिङ्ग हुनुको अरू कारण खोजिरहनु पर्छ र ? जनतालाई पार्टी पार्टीमा बिभाजित गरेर राष्ट्रिय एकता र अस्तित्व संकटमा पार्नेहरु आफूलाई देशभक्त र अग्रगमनकारी भन्छन्, आश्चर्य छ ।
चेतना छ, पार्टीमा लागेका बुद्धी र विवेकले पार्टीको वकालत गर्छन् । जो पार्टी स्वार्थमा लागेको हुन्छ, उसले सही र गलत छुट्याउनै सक्दैन । यसकारण नेपालमा स्वतन्त्र विवेक छ कि छैन ? छ भने संसद बरालिदा, सरकार पथभ्रष्ट हुँदा, प्रशासक भ्रष्टाचारमा लिप्त हुँदा, पार्टी र नेताहरू अपराधका संरक्षक बन्दा, न्यायालय नै सडकमा छरपस्ट हुँदा, संविधानमाथि नै बलात् अत्याचार हुँदा विवेक बोलेको देखिदैन । जब विवेक पार्टीको बन्धकमा परेका हुन्छन्, त्यो देश वर्तमान कालखण्डका नेपालजस्तै हुन्छन् । हो, बोल्न पाइन्छ, बोलीको सुनवाई कहीं हुँदैन । जता हेरे पनि बाहुबली, बल मिचाइमात्र छ । यस्तो लोकतन्त्रले समृद्धि र सुख होइन, बिनास र अस्तित्वलाई खियाले खाएझैं खान्छ, खाइरहेको छ । नेपाल सकिने ओह्रालो यात्रा तय गरिरहेको छ ।
अतिवाद, निरङ्कूशता र सर्वसत्तावाद चाहिंदैन भनेर ल्याएको लोकतन्त्रको असक्षम डाक्टरले हालेको कोरामीनको कुरामा सिमित भयो । लोकतन्त्र लोकमा स्थापित हुनसकेन, लोकतन्त्र नेता र तिनका पारिवारिक मौजा हुनपुग्यो । लोकतन्त्र लोकका लागि कौवालाई बेल पाकेसरह भयो ।
राष्ट्रियताको अनुपस्थितिमा प्रजातन्त्र मौलाउन सक्दैन भनेर लेख्ने गुननार्गिदेलले नोबेल पुरस्कार पाएका थिए । राष्ट्रियता र प्रजातन्त्र सँगसँगै लैजानुपर्छ भन्ने बीपी कोइरालाको सिद्धान्त र मेलमिलापको नीति कांग्रेसभित्रै देखिदैन । कम्युनिट त कम्युन्यालिस्ट र कमाउनिस्ट भइहाले । सर्वहाराका कुरा गर्नेहरू शिक्षा, स्वास्थ्य, रोजीरोटी, बासमै व्यापार गर्ने तिल्के मारवाडी बनिसके । परिवर्तन हामीले ल्यायौं भन्ने यिनको राजनीतिले न माटो मलिलो पा¥यो, न जनताको मुखको माड बन्यो । नेपालको राजनीति स्वतन्त्रता र स्वाधीनताका लागि ढलेको धरहरामात्र हो । १७ वर्षको लोकतन्त्रको पाना पल्टाउँदा देखिने अनियमितता र अनैतिकतामात्र हो । विकास देखिन्न । सतहमा सुनिएको समृद्धी र शान्तिको भाषण सडकमा जनआक्रोश बनेर रोइरहेको छ । यो जनाक्रोस सुनामी बन्यो भने के होला ? अनुमानमात्र गर्न सकिन्छ ।
वर्तमान नेतृत्व ३४ वर्षदेखि सत्तामा पटक पटक गएर के गर्नु ? देशमारा विषालु तत्वहरूसँग तिघ्रा जोडेर मार्सी चामलको भात खानेहरूलाई विश्वले देखेको छैन र ? यी हलेदो हुन्, यिनको आँखा नै कमलपित्ते छ । कमलपित्तेहरूले देख्ने भनेको पहेंलोमात्र हो । देशै कमलपित्ते रोगले पहेंलपुर भइसक्यो, सुधार्ने सहारा एकजना पनि राजनीतिमा देखिदैन । मंसिर ४ को निर्वाचनले केही युवालाई अग्रसर त गराएको छ, यिनीहरू कुहिराको काग हुने हुन् कि कुहिरो फार्न त्याग गर्न पनि तत्पर हुन्छन्, आगामी केही समयले नै बताउला । किनकि यिनको पनि करनी र कथनीमा भिन्नता देखिन थालिसक्यो । यिनले पनि भ्रम छर्न थालेको अनुभूति हुनथालेको छ ।
साहित्य एकेडेमीको सर्वोत्कृष्ठ पुरस्कार अस्वीकार गर्ने अरून्धती रोयले लिसनिङ टु ग्रास हपर्स पुस्तकमा भारत विश्वको ठूलो डेमोक्र्य्रासी होइन, डेमनक्रेजी हो भनेर किन लेखिन्, यत्ति कुरा पनि नेपाली नेता बुझ्दैनन् र गरीब नेपालीको ढाड चढेर विदेशीको बुई चढेर नेपालमाथि शासन गर्न उत्साहित हुन्छन् । योभन्दा ठूलो अराजनीति र अराजक मानसिकता के हुनसक्छ ? जिवित नेपाल र नेपालीमाथि कति परजीवीको शासन ? तर नेपाली चेतना यो परजीवीविरुद्ध उभिन सकेको देखिन्न ।
परिवर्तनकारी नेतृत्वमा योग्यता हुँदो हो त १७ वर्ष लामो समय हो । राजा महेन्द्रले ०१७ देखि ०२८ सालको १२ वर्षमा भारूमा चल्ने नेपाललाई नेरूमा मात्र होइन, राष्ट्रसंघमा उभ्याइदिए । ०८० सालमा समेत हामी महेन्द्रले खडा गरिदिएका विकासका पूर्वाधारमा उभिएका छौं । ०६३ सालदेखि ०८० को कालखण्ड क्रान्तिकारी, परिवर्तनकारीले खाएर र नाचेरै बिताए । अझै पनि ऐना हेर्दैनन् नेताहरू ? यिनले आफ्नो नाच नागानाचभन्दा भिन्न देख्नेछैनन् ।
आफूसामु उभिएको यक्ष प्रश्न पढुन्– प्रजातन्त्रवाद, समाजवाद, माओवाद, माक्र्सवाद, जनवाद, राजतन्त्रवाद, हिन्दुवाद ः यी सबै बादभित्र राष्ट्रबाद कहाँ छ ? छ भने राष्ट्रबाद यति कमजोर किन हुँदै गयो ? नेपालको सर्वसम्मत राष्ट्रिय नीति र परराष्ट्रनीति के हो ? केही पनि प्रष्ट छैन ।
यिनकै कारणले सुस्ता गयो, कालापानी गयो, लिम्पियाधुरा–लिपुलेक गयो, भारतसँग जोडिएका २३ जिल्लाका ६६ हजार हेक्टर भूभाग अतिक्रमणमा परिसक्यो । अनेक वाद र संविधानको आरती उतार्नेहरू आफ्नो राष्ट्रबादको बारी अर्काले खनजोत गरेको देख्छन्, बोल्दैनन् ? एकधरो कपडाको राष्ट्रिय झण्डा, एक इन्च भूमिका लागि युद्ध भएका छन् । लुटतन्त्र चलाउने लोकतान्त्रिक चङ्खेहरूले लोकलाई लाटो बनाए । आफू विदेशीको खेताला बने । खेतालाले देश बचाएर बाँच्दैन । अब त भारतले २० करोडसम्म आफैले नेपालभरि लगानी गर्ने अवसर पाएको छ । यो लगानी होइन, नेपालको भारतीयकरण हो भन्ने कुनै नेता भन्न सक्दैनन् । लोकतन्त्र अनैतिकताको पोखरीमै डुबेर मर्ने भयो ।
गर्विलो इतिहासको स्मरणीय पक्ष– देउथलको युद्धमा लमजुङे बाघ अर्थात सरदार भक्ति थापाले लडे । फरक यत्ति छ, चर्को भाषण र क्रान्तिकारी, परिवर्तनकारी धेरै छन् तर जो देउथलजस्तै नेपालको अस्तित्वरक्षाको आधुनिक युद्ध मैदानमा छन्, त्यो नेतृत्व तह नै परचक्रीको खोकिलामा मुख लुकाएर लोकतन्त्र लोकतन्त्र भट्याइरहेका छन् । देश संक्रमणबाट संकटमा फस्यो । बाघका अनुहारका बिराला ७ सय ६१ सरकार बनाएर लुटतन्त्रमा अभ्यस्त भइरहेका छन् । किनकि यिनीहरू व्यवसायी हुन्, राजनीति गर्दैनन् । अपराधीसँग मिलेर अपराधतन्त्र चलाउँछन् ।
यिनीहरू यी आफै लोकतन्त्र भन्दै अपराधमा बदलिन्छन्, समाज बदलिदैन । बदल्दैनन् । युगद्रष्टा शेखरले लेखेको यो पंक्ति सम्झना आउँछ– मान्छेले अरूको अनुभवबाट सिक्छ, धेरै कुरा सिक्न सक्छ । पशुले आप्mनै अनुभवबाट मात्र सिक्छ । हाम्रो राजनीतिका डिठ्ठासावहरू मान्छे हुन् कि पशु ? आफै निर्णय गरून् ।
समाज बदल्ने साँचो हो राजनीति । देश सुधार्ने अत्याधुनिक मेसिन हो लोकतान्त्रिक पद्धति । मेसिन राम्रो भएर के गर्ने साँचो चलाउने नेता योग्य नभएपछि, सिप र इच्छाशक्ति नभएपछि । यसकारण लोकतन्त्र नाममा सिमित हुनपुग्यो ।
२०६३ सालदेखि लोकतन्त्रको झ्याली पिटाइयो । झ्याली मान्छे जन्मिदा, जात्रामा, शव चिहान लैजादा पनि बजाइन्छ । लोकतन्त्रमा बजेको झ्याली जीवन र जात्रा कम, मृत्यु धून ज्यादा लाग्छ । धर्मनिरपेक्षताको आवरणमा भेटिकनले हिन्दुराष्ट्र नेपालमा धर्मपरिवर्तनको बम खसालिसक्यो, हिन्दुवाद मौन छ । ९४ प्रतिशत ॐकार परिवार बेहोस छन् । विद्रोह गर्न सक्दैनन् । यसकारण नेतृत्व झन झन भ्रष्ट हुँदै गएको हो ।

 

footer