kumari
stcnepal

कैलालीमा बलत्कारका मुद्दा अत्यधिक

कैलालीमा यौन दुव्र्यवहारका घटना बढ्दै गएका छन् । चालू आर्थिक वर्षको हालसम्म जिल्लामा महिलामाथि यौन दुव्र्यवहारसम्बन्धी ५४ मुद्दा दर्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार जबर्जस्ती करणी (बलात्कार) शीर्षकअन्तर्गत ३३ वटा र जबर्जस्ती करणी उद्योग (बलात्कारको प्रयास) शीर्षकमा २१ वटा मुद्दा दर्ता भएका छन् । दुवै शीर्षकमा ६४ जनाविरुद्ध मुद्दा चलिरहेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक आभूषण तिम्सिनाले जानकारी दिए ।

जबर्जस्ती करणीमा ४१ जना र जबर्जस्ती करणी उद्योगमा २३ जनाविरुद्ध जिल्ला अदालत कैलालीमा मुद्दा चलाइएको उनले बताए । यीमध्ये १० जना फरार छन् । गएको वर्ष जबर्जस्ती करणीमा ४१ वटा र जबर्जस्ती करणी उद्योगमा २५ वटा मुद्दा दर्ता भएका थिए ।

पीडितमैत्री कानुनी व्यवस्था रहेको मुलुकी संहिता लागू भएपछि प्रहरीमा जाहेरी दिनेको संस्था बढेको प्रहरी उपरीक्षक आभूषण तिम्सिनाले बताए । बलात्कृत भएको सार्वजनिक हुँदा बेइज्जत हुने भयले घटना लुकाएर राख्ने र मिलापत्रमा टुंग्याउने गरिएकामा अहिले पीडितलाई संरक्षण गर्ने गरी कानुनी व्यवस्था भएपछि पीडित खुल्न थालेको प्रहरीको बुझाइ छ ।

‘बलात्कारका घटना पहिले बाहिर आउँदैनथे । भित्रभित्रै मिलाइन्थ्यो । पीडितमैत्री कानुन व्यवस्था नहुँदा धेरै पीडित खुल्न चाहँदैनथे,’ प्रहरी उपरीक्षक तिम्सिनाले भने, ‘अहिलेको कानुनले पीडितलाई संरक्षण गरेको छ । त्यसैले, प्रहरीमा जाहेरी दिनेको संख्या बढ्न थालेको हो ।’

पीडितमध्ये बालिका, किशोरी, अपांगता भएका बोल्न नसक्ने बढी रहेको प्रहरी तथ्यांकले देखाउँछ । बलात्कारबाट जोगिनेबारे जिल्ला प्रहरी कार्यालयले स्कुल सचेतना कार्यक्रम सञ्चालन गर्न लागेको तिम्सिनाले जानकारी दिए । आफन्त र छिमेकीबाटै बालिकाहरू बलात्कृत भएका घटनाहरू बढी देखिएकाले अभिभावक पनि सचेत हुनुपर्ने अधिवक्ता तुलाधरको सुझाब छ ।

footer