kumari
stcnepal

भ्रष्टाचारको आरोपमा झारखण्डका मुख्यमन्त्री सोरेन पक्राउ

एजेन्सी । भारतको झारखण्ड राज्यका मुख्यमन्त्री हेमन्त सोरेन पक्राउ परेका छन् । जमिन खरिदबिक्रीमा भ्रष्टाचार गरेको आरोप लागेका उनलाई प्रवर्तन निर्देशनालय (ईडी) का अधिकारीहरूले राजधानी राँचीस्थित निवासबाटै गएराति नियन्त्रणमा लिएका हुन् ।

राँचीमा रहेको भारतीय सेना मातहतको चार एकडभन्दा बढी जग्गा नक्कली कागजात बनाएर बिक्री गरिएको र त्यसमा मुख्यमन्त्रीको संलग्नता रहेको आरोप छ । विपक्षी भारतीय जनता पार्टीले उक्त मुद्दामा मुख्यमन्त्री सोरेनमाथि कारबाहीको माग गर्दै आएको थियो । यो विषयमा सोरेनले धेरै दिनदेखि ईडीलाई बयान दिन अस्वीकार गर्दै आएका थिए । दुई दिनअगाडि उनको दिल्लीस्थित निवासमा ईडीले छापा मारेको थियो। ईडीका अधिकारीले त्यहाँबाट ३६ लाख नगद र एउटा बीएमडब्लू कार नियन्त्रणमा लिएको थियो ।

सरकार मातहतको निकाय ईडीले सम्पत्ति शुद्धीकरण र विदेशी मुद्रा कानुनको उल्लंघनलगायत विषयमा छानबिन गर्छ । ईडीले पक्राउ गरेको औपचारिक जानकारीअघि नै सोरेनले राज्यपालकहाँ पुगेर मुख्यमन्त्री पदबाट राजीनामा दिइसकेका छन् । झारखण्ड मुक्ति मोर्चा पार्टीबाट मुख्यमन्त्री बनेका उनी आदिवासी जनजाति समुदायलाई प्रतिनिधित्व गर्छन् ।

footer