kumari
stcnepal

पाकिस्तानमा आज संसदको निर्वाचन हुँदै

काठमाडौं । कडा सुरक्षा प्रबन्धका बीच पाकिस्तानमा आज आम निर्वाचन हुँदै छ । मतदान आज बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म हुने छ ।

मतदानको पूर्वसन्ध्यामा बलुचिस्तान प्रान्तका दुई स्थानमा भएका बम विष्फोटमा कम्तिमा २३ जनाको मृत्यु भएको छ । हिंसात्मक घटनाका कारण निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न गराउन सेना, प्रहरी र निर्वाचन आयोगलाई चुनौतीपूर्ण हुने ठानिएको छ । निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गराउन सुरक्षाकर्मीहरु सहित ६ लाख ५० हजार जनालाई परिचालन गरिएको रेडियो पाकिस्तानले जनाएको छ ।

पाकिस्तान निर्वाचन आयोगका अनुसार कूल १२ करोड ८५ लाख ८५ हजार ७६० जना मतदाता छन् । मतदानका लागि ९ लाख भन्दा बढी मतदान केन्द्र बनाइएको छ । निर्वाचन आयोगका अनुसार ४४ हजार मतदान केन्द्र सामान्य छन् । २९ हजार ९८५ मतदान केन्द्र संवेदनशील र १६ हजार ७६६ मतदान केन्द्र अति संवेदनशील घोषणा गरिएको छ । निर्वाचनमा ५ हजार १२१ जना उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन् । तीमध्ये ४ हजार ८०७ जना पुरुष, ३१२ महिला र दुई जना यौनिक अल्पसंख्यक उम्मेदवार छन् ।

यो निर्वाचनको प्रतिस्पर्धामा सबैभन्दा अगाडि ७४ वर्षीय पूर्वप्रधानमन्त्री नवाज शरीफ रहेको चर्चा छ । यदि उनको पार्टी पाकिस्तान मुस्लिम लिग-नवाज (पीएमएल-एन) ले चुनाव जितेमा नवाज शरीफ चौथो पटक प्रधानमन्त्री बन्ने छन् । अमेरिकी थिङ्कट्यांक विल्सन सेन्टरका दक्षिण एशियाका निर्देशक माइकल कुगल्मनलाई उद्धृत गर्दै बीबीसी नेपालीले लेखेको छ, ‘उनी निकै लोकपि्रय भएर हैन, सही तरिकाले राजनीतिक चाल चलेका कारण भावी प्रधानमन्त्रीको प्रबल दाबेदार बनेका हुन् ।’

नवाज शरीफको कट्टर आलोचक इमरान खान जेलमा रहेको र उनको पार्टी पीटीआईलाई चुनाव लड्न रोक लगाइएकाले नवाज शरीफको पार्टी पाकिस्तान मुस्लिम लिग-नवाज (पीएमएल-एन)ले चुनावबाट सबैभन्दा ठूलो दल बनेर सरकार बनाउने अनुमान गरिएको हो । यसैगरी बुलावल भुट्टो जरदारीको पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) पनि यो निर्वाचनको प्रमुख प्रतिस्पर्धी हो । पीपीपीले जरदारीलाई भावी प्रधानमन्त्रीको रुपमा अघि सारेको छ ।

footer