सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

गैह्रजिम्मेवार राजनीतिले लोकतन्त्र बदनाम भयो

481
shares

 

राजन कार्की
गैह्रजिम्मेवार राजनीतिले लोकतन्त्र बदनाम भयो । व्यवस्था खराव भएकाले सपार्नका लागि बदलिएको व्यवस्था आफै खराव हुनपुग्यो । खराव बनाएको नेतृत्वले हो । रोगी समाजको उपचार बन्नुपर्ने राजनीति हिजो पनि रोगग्रस्त थियो, परिवर्तनको १८ वर्षमा झन झन रोगग्रस्त भइरहेको छ । यसकारण शान्ति, समृद्धि, सुशासन स्थापित हुन सकेन । बोल्न पाउनु र चुनाव हुनुमात्र लोकतन्त्र होइन । लोकतन्त्रमा लोकले पाउनै पर्ने आधारभूत सुविधा पाउनु पर्नेमा लोकले पाउनुपर्ने सेवा, सुविधा सबै नेतृत्वले लुटेकाले लोकतन्त्र लूटतन्त्र बनेको हो । लोकतन्त्रका अङ्गप्रत्यङ्ग भनेका संवैधानिक निकायहरू हुन् । प्रत्येक संवैधानिक निकाय भ्रष्टाचार, अनीति र राजनीतिकरणको सिकार बनेका छन् । राजनीतिकरणको आड लागेर अपराधीहरु सलबलाउँदा आमनागरिक डसिन पुगेका छन् ।
०७४ को आवधिक निर्वाचनपछि अब त सुधार होला कि, परिवर्तन जनताले अनुभूति गर्न पाउलान् कि भनेको ५ वर्ष राजनीतिक अस्थिरतामा सकियो । ०७९मा अर्को आवधिक निर्वाचन भएको छ । यो निर्वाचनपछि संसद, सडक, सरकारमा जे देखियो, अनैतिकता देखियो । न कुनै पार्टीको नीति, नैतिकता जिवन्छ छ, न सिद्धान्त बाँचेको छ । सत्ता भएपछि जति पनि र जहाँ पनि गल्न, भुल्न सक्ने राजनीतिका कारण लोकतन्त्रजस्तो विश्वले मानेको व्यवस्था नेपालमा बदनाम हुनपुग्यो । यही नेतृत्व रहिरहने हो भने यही व्यवस्थाले १९७५ को सिक्किमको हालतमा नेपाल पूगने त होइन भन्ने संशय बढेको छ ।
यस्तो लज्जा पनि लज्जित हुनेखालको राजनीतिले समाज परिवर्तन र सभ्य हुनसक्दैन । नेपालमा लोकतन्त्रको यो दृश्य दुर्भाग्यपूर्ण छ ।
राजनीतिमा लाग्नेहरुमा देश बनाउँछु, जनताको सेवा गर्छु, अस्तित्व रक्षाका लागि त्याग गर्नसक्छु भन्ने इच्छाशक्ति हुनुपर्छ । नेपालका नेतामा त सत्तामोहबाहेक केही पनि छैन । देश बनाउने राजनीतिक, प्रशासनिक सिपाही छैनन् । देश बनाउने सिपाही नभएपछि बचाउने समस्या बढ्छ । देश आज अस्थिरताको भूमरीमा पर्नु र आन्तरिक मामिलामा विदेशीको हैकम देखिनुको कारण पनि नेतृत्वको नालायकपन हो । देश हाम्रो, हैकम अरूको । शासन प्रशासन हाम्रो, निर्णय विदेशीको । भूमि नेपालको, शासन विदेशीको ।
योभन्दा गए गुज्रेको लोकतान्त्रिक नामधारी पद्धति अरु के हुनसक्छ ? लोक बिद्रोह गरिरहेका छन्, लोकका सामु उभिएर कुरा गर्न नसक्ने नेतृत्व पदमा, जिम्मेवारीमा छन् । ग्रह्रजिम्मेवारीको सीमा पार भइसक्यो । यति दयापात्र बनिसक्दा पनि नेतृत्वमा चेत पलाएको देखिदैन ।
अन्य मुलुकका संक्रमण, निकासजस्ता घटनाबाट शिक्षा लिएर नेताले, सरकारले, नागरिक समाजले, अधिकारकर्मीले राष्ट्रलाई दिशानिर्देश गर्नसक्नुपर्छ । गलतलाई गलत र सहीलाई सही भन्नसक्नुपर्छ । बिग्रे भत्केको देखेपछि खबरदारी गर्नसक्नुपर्छ । नेपालमा त लुट्ने लुटिरहेका छन्, विवेकशीलहरु ट्वाँ परेर हेरिरहेका देखिन्छन् ।
जब राजनीति सही मार्गमा चलाइन्छ, तव कानुनव्यवस्था, शासन प्रशासनमा सुधार आउँछ । प्रष्ट छन् कानुन, प्रष्ट छन् संविधान, तर कार्यान्वयन शून्य छ । कानुनका छिद्र खोजेर राजनीतिलाई अपराधिकरणमा चोपल्ने र अपराधी शासन र कानुन बनाउने सत्तामा, शासनमा पुग्नु भनेको कुशासन हो । संविधान, पद्धतिको असफलता हो । यसकारण प्रश्न उठेको छ, देश बनाउने राजनीतिक, प्रशासनिक ल्याकत कहीँ पनि छैनन् । लोकतन्त्र ल्यायौं, परिवर्तन ल्यायौं भन्ने नेताहरू संसदमा छन्, सरकारमा छन्, तिनकै हातमा शासन व्यवस्था छ । के तिनले यो परिवर्तन, यो लोकतन्त्रको स्वामित्व लिएका छन् ? छन् भने किसान, आमनागरिक, बैंकपीडित, मिटरब्याज पीडितमात्र होइन, अन्यायमा परेकाहरु न्यायका लागि किन गुहार लगाइरहेका छन् ?
अदालतले जन्मकैद ठहर गरेकालाई समेत माफी दिएर राजनीति गर्न छुट दिने सरकार, राष्ट्रपति देशका हितकारी हुनसक्दैनन् ।
नेपाल भूराजनीतिको गोलचक्करमा परिसक्यो । शक्ति राष्ट्रहरूको चासोको विषय, प्रभावको अंकूशमा नेपालका शासन प्रशासन परिसकेका छन् । राज्यका हरेक निर्णयहरूमा विदेशी प्रभाव देखिनु भनेको नेपालको राजनीतिको सबैभन्दा ठूलो हार हो । अराजनीति हो । कूटनीतिक विफलता हो । नेपालमा जे भइरहेको अराजनीति, व्यवसाय भइरहेको छ । यो भोरजूवामा कहिले कांग्रेस, कहिले एमाले, कहिले माओवादी केन्द्र, कहिले ससाना पार्टीहरूले च्याँखे बल्झाउने गरेका छन् । यथार्थमा यो राजनीतिक जूवा खेलाउने खाले विदेशी दबाब, प्रभाव र साधन स्रोत नै हुने गरेको छ । विदेशी चास्नीमा डुबेर हाम्रो नेतृत्व पटक पटक आत्महत्या गरिरहेका छन् । जनविश्वासको संकट छ । विश्वासघात भएपछि केको संविधान, केको विधि ? घातीका लागि सबैभन्दा महत्वपूर्ण भनेको उसको स्वार्थ हो । स्वार्थमा डुबेपछि ऊ विवेकहीन हुन्छ । विवेकहीन शासन सत्ताबाट आमनागरिकले विवेकको न्यायको आशा राख्नु सपना हो । देशभित्रका राजनीतिक घटनाक्रम हेर्दा लाग्छ, नेपालको लोकतन्त्रले देशको अस्तित्व मेटाउने खतरा छ ।
लोकतान्त्रिक परिवर्तन, जनयुद्ध, जनआन्दोलन गर्नेहरूले ठूलै क्रान्ति गरेको फुइँकी लगाउन छाडेका छैनन् । त्यतिठुलो परिवर्तनले चेतना ल्यायो, चेतना देशका लागि निर्णायक बन्न सकेन । आँखा चिम्लेर हरेक सवालमा राजनीतिकरण हुने गरेको छ । आमनागरिकलाई पनि विभाजन र राज गरको नीतिमा पार्टीहरूले स्वार्थसिद्ध गरिरहेका छन् । मान्छेहरू बथानका बथान बनेर दलका नारा लगाइरहेका छन् । नारा नेताका लागि, पार्टीका लागिमात्र होइन, राजतन्त्रका लागि समेत लागिरहेको छ । शान्ति, समृद्धीको कुनै राजमार्ग खन्न कोही तैयार छैनन् । भएका भत्काउन सबै तैयार छन् । असन्तुष्टि बढेको छ । असन्तुष्टहरूसमेत विभाजित छन् । देश बनाउने बचाउने राजनीतिक र सुरक्षाकर्मी सिपाहीले हो । देशमा सिपाही भनेको युवा हुन्, युवाहरु गरिखान पाइएन भनेर हरेक दिन लाइन लागेर विदेशीने गरेका छन् । तिनले पठाएको रेमिटान्स अर्थतन्त्र कुनै पनि बेला दुर्घटना पर्नसक्ने खतरा अर्थविद देखाइरहन्छन्, कोही पनि भययुक्त भएको छैन । सबै सकेसम्म लुट्नतिर व्यस्त अभ्यस्त भइरहेका छन् ।
असन्तुष्ट जनताले सडक तताइरहेका छन् । सडक सडकमा धर्ना दिइरहेका छन् । लघुवित्त पीडितले त संसदभित्रै धावा बोलिसके । सरकार डोरीले निषेधित क्षेत्र घोषणा गरेर कानुनव्यवस्था ठिक हुन्छ भन्ने विश्वासमा छ । कतै श्रीलंकामाजस्तो जनविद्रोह हुनपुग्यो भने को कता पुग्छ, यो डोरी निषेधित क्षेत्र रणमैदान त बन्दैन ? भन्न सकिने अवस्था छैन । किनभने सरकार र शासन प्रशासनमा जनताको विश्वास समाप्त भइसकेको छ ।
प्रहरीको लाठी, थुनछेक र दमनले कति दिन जनताको आक्रोशलाई रोक्नसक्छ ?
राम्रो काम र जनताको सम्मानले हो राजनेता बन्ने । नेपाललाई गरीबभन्दा गरीब बनाउने, नेता धनी बन्ने अनि तिनै गरिबमाथि भ्रष्ट नेताले शासन गर्ने विधि लामो समय चल्न चलाउन मुस्किल छ । त्याग, तपस्या, बलिदानी भाव नभएकाले राजनेता छैनन् । राजनीति छ, नीति छैन । संविधान छ, विधि छैन । नेता छन् व्यवहार छैन । भाषण छ, शान्ति, सुशासन, समृद्धि छैन । राजनीतिक स्वार्थका लागि नेताहरू लडन्त भिडन्त गरिरहेका छन् । यिनै नेताहरु आमनागरिकलाई जुधाइरहेका छन् । नेता कस्ता छन् भने लाभ पाउने ठाउँमा मिल्छन्, लाभ लिन्छन्, फेरि जुध्छन् । नेताहरू आफै जुधेका होइनन्, यिनलाई जुधाउनेहरू देश विदेशी शक्तिहरू छन् । देश बनाउँछु भन्नेहरू आफू आफूमै जुध्नु भनेको अर्काको रिमोटमा नाच्नु हो । नेपाली नेताहरुमा मौलिक केही पनि छैन । यिनको राजनीति विदेशीका सामु लम्पसार र आफ्ना नागरिकका सामु दमनकारी छ ।
बडामहाराजाधिराज पृथ्वीनारायण शाह थिए, नेपाल निर्माण गरिदिए । जातीय सद्भाव र एकताको सूत्र बनाइदिए । यस्तो बहुजातीय अखण्ड देशलाई बिखण्डनको खतरामा पार्ने यही नेतृत्व हो । यस्तो नेतृत्वले नेपालको सुदूर भविष्य अन्धकार अन्धकार मात्र देखिन्छ ।
यस्तो लाजनीतिलाई राजनीति बनाउने वीर कोही छ ?

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports