kumari
stcnepal

नेपालमा लोकतन्त्र दुर्योधन चलाइरहेका छन्

 

राजन कार्की
नेतालाई सधैं रमाइलो, सधैं उत्सव । भुइँमान्छेका लागि न खाना, न नाना, न छाना छ, भुइँमान्छे भुइँमा जन्मेर भुइँमै मर्नुपर्ने हो ?
जनता चुनावमा मतदान गर्ने मेसिनमात्र भए । मतदानपछि जनताको न मूल्य छ, न मान्यता छ । पार्टीले आफ्ना कार्यकर्ता ठानेका जनता न बोल्छन्, न तिनको बोली बिक्छ । राणा शासनमा प्रजा थिए, ०४६ सालमा नागरिक भएको घोषणा गर्ने यिनै थिए, ३४ वर्षपछि पनि आमजनता नागरिक बन्न सकेका छैनन् । जो आफूलाई नागरिक समाज सम्झन्छन्, ठान्छन्, तिनीहरूसमेत कुनै न कुनै पार्टीको फेर समातेर विवेकहीन बनिरहेका छन् ।
भुइँमान्छेलाई हेर्ने कसले ?
भुइँमान्छे हिजो पनि लुटिएका थिए, लोकतन्त्रमा पनि लुटिएका छन् । लोकतन्त्र नेताहरुको भाग शान्ति जय नेपाल गर्ने गुठी पो भयो ।
भूकम्प आयो, भुइँमान्छे मरे, कोरोना आयो भुइँमान्छे मारिए । संघीयता आयो भुइँमान्छेमाथि कर थोपरियो । लोकतन्त्र आएर भुइँमान्छेले पाए के ?
भुइँ मान्छेलाई सधैंं सकस, सधैं शास्ती ।
लोकतन्त्र पद्धतिको राजनीतिमा नीति, सिद्धान्त, नैतिकता र धर्म भन्ने सकियो ।
बहुदलको १२ वर्ष कालरात्रि भयो, लोकतन्त्रको १७ वर्ष भ्रष्ट शासन चल्यो, चलिरहेको छ । राजनीतिमा निष्ठा र सिद्धान्तको मूल्य भैंसी आहाल बस्ने फोहर पोखरी बन्यो । यति हुँदा भुइँमान्छेले ठूलो शिक्षा पाए तर भुइँमान्छे हातमुख जार्ने समस्यामा यसरी थिलथिलो बनेर थिचिएको छ कि मनको आक्रोस, मनमै पालेर भुइँमान्छे मरिरहेको छ । विद्रोह गर्ने ताकत आर्जन गर्न सकिरहेको छैन ।
भुइँमान्छेको नेता को हो ? कोही त अघि सर ।
मर्ने भुइँमान्छे रहेछ, शोसित हुने भुइँमान्छे नै हो । भुइँमान्छेका लागि भय जनयुद्धकालमा थियो, भय भूकम्प थियो, त्योभन्दा डरलाग्दो भय कोरोनाले भयो । हुन त भुइँमान्छे हरेक दिन भोकको भयमा छ । के गरौं कसरी बाँचौं, परिवार कसरी पालौं, कसरी जीवन चलाऊँ भन्ने भयमा छ । भय सधैं सोझा र सज्जनका लागि किन आउँछ ?
लुटतन्त्र चलिरहेको छ । लोकतन्त्रमा जति लुटे पनि दण्ड सजाय नहुने भएपछि राजनीति हरेक दिन राष्ट्रघाती, जनपापीहरूका लागि बालाजुको बाइसधारा बनेको छ । जहाँ नुहायो, अपराधीले बैतर्णी तर्न पाउने । लोकतन्त्र विधिको शासन भन्छन्, अपराधिक शासन पो भयो ।
एउटा राजा फालेर हजारौं राजा बनाउने खेलो रहेछ परिवर्तन । सिंहदरवार, राजदरवार, शितल निवासको शक्ति दिल्ली पु¥याउन रहेछ । त्यसका अनेक पराकम्पनहरू हरेक दिन हामी भोगिरहेका छौं । सत्ता गठबन्धनको निरन्तर परिवर्तन, आलंकारिक राष्ट्रपतिको निर्वाचनमा जे देखिएको छ, त्यो नगरवधुकोभन्दा पनि गए गुज्रेको परिदृश्य हो । तैपनि सत्ताधारी अपवित्र गठबन्धनेहरू भन्छन्– संविधानको कार्यान्वयनका लागि अग्रसर छौं ।
भर्खर नीतिहीन, सिद्धान्तहीन सत्ताको अर्को अध्याय सुरु भएको छ । यिनीहरु पनि भन्छन्– जनतालाई डेलिभरी दिन्छौं । भ्रम छर्ने र सपना देखाउने काम हिजो थियो, आज पनि भइरहेको छ ।
नेताहरु सत्तामा बसेर भुइँमान्छले तिरेका करको राजस्व घिचिरहेका छन् । हरेक विदेशी जो नेपाल आउँछन्, कति सुन्दर देश भन्छन् र जाने बेलामा अनुभव सुनाउँछन्– स्वर्ग हो नेपाल । नेपालका नेतामा नैतिकता, राजनीतिक धर्म, इच्छाशक्ति र इमान रहेनछ । तैपनि हाम्रा नेताहरुलाई लज्जाबोध हुँदैन ।
स्मरणरहोस्, राष्ट्र एकीकरणको ठूलो उपलब्धि हासिल भएपछि बडामहाराजाधिराज पृथ्वीनारायण शाहका भाइले आफ्नो भाग राज्य माँगेको प्रसङ्ग नेपालको इतिहासमा छ । पृथ्वीनारायण शाहले राज्य अभिभाज्य हुन्छ, राज्य अंशभाग लगाउने बस्तु होइन । जसले राज्य टुक्य्राउन खोज्छ, उसको गर्धन छिनाल्छु भन्ने कडीकडाउ जवाफ दिएपछि यो विवादको अन्त्य भएको थियो ।
तर लोकतन्त्र नेताहरुको मिलिभगतमा चलिरहेको छ । हरेक दललाई सत्ताको भाग चाहिएको छ । भर्खर भएको अर्को परिवर्तन पनि मिलिभगत नै हो ।
इतिहास साक्षी छ– स्पेनबाट सानो भूभाग क्याट्लोनिया टुक्य्राउन खोज्दा प्रधानमन्त्री म्यारिआनोले भाषा, भेष, जात वा भेगका आधारमा राज्य टुक्य्राउन खोज्ने राष्ट्रघाती हुन्छ, उसले क्षमा पाउँदैन भन्ने घोषणा गरेका थिए । नेपालमा बहुल राष्ट्रवादको मुद्दा आज पनि कायमै छ । नेपाल एक देश रहनै सक्दैन भन्नेहरू संवैधानिक शक्ति बनेर संसद, सरकारमा छन् । भ्रष्टाचारको भाङ्मा लठ्ठिएकाहरू लोभ र लाभका लागि यस्ता विवाद झिक्छन् । सत्ता पाए संविधान जिन्दावाद, सत्ता नपाए सडक गान चलिरहेकै छ । न्याय, विधिको शासन, सुशासन भन्ने सवाल स्यालको सिङ् हराएजस्तो हरायो ।
माओले त्यसै महेन्द्रलाई विश्वास गरेका थिएनन् । म के कम्युनिष्ट, कम्युनिष्ट त महेन्द्र हुन् भनेर ख्यालठट्टा गरेका थिएनन् । विश्वले नेपालको असंलग्नताको हावामा सह्राहना गरेको थिएन । आज नेपालको व्यक्तित्व झारपातको स्तरमा झरिसक्यो, अमेरिकाले इण्डो प्यासिफिक रणनीतिमा सही गर्न भन्दा खुरूक्क सही गरेर आउनेहरू यिनै हुन् । अमेरिकी राजदूतले नढाँटी एमसीसी इण्डो प्यासिफिक रणनीतिकै हिस्सा भनेर नेपालको विकासमा सघाउन इच्छा व्यक्त गरेर टीभी र सामाजिक सञ्जालबाट पढाएको पनि देखियो । यस्तै अध्यापन चिनियाँ र भारतीय राजदूतले ‘सियानलियाओ’ र ‘मनकी बात’ भनेर सुरू गरे भने नेपालको हालत कहाँ पुग्ला ? हिजो नेपालले के भन्छ भनेर विश्वले कान ठाडो पारेर सुन्थ्यो, आज नेपालको हैसियत साँघुरिएर विश्वशक्तिको खेल अखडा बनिसक्यो ।
यी हाम्रा कस्ता नेता हुन्, जसलाई देशको सीमा थाहा छैन । नक्सा छ, भूमि अर्काले खाइसकेको पनि देख्दैनन् ।
नेपालको प्राथमिकतामा सधैँ उत्तर दक्षिणका मुलुक हुन् । ठूला मुलुकका बीचमा तरूलजस्तो नेपालको भूराजनीतिबारे नेपाली राजनीति सुशिक्षित छैन वा थाहा पाएर पनि सचेत रहेन । यसकारण त उत्तर दक्षिणमात्र होइन, विश्वशक्ति नेपालमा पारदर्शी रूपमा प्रवेश गरिसकेको छ । हाम्रा नेताहरु राम आए रामाय, कृष्ण आए कृष्णाय जसरी लम्पसारवादी बनिरहेका छन् ।
कानुन छ, कार्यान्वयन नै हुँदैन । कानुन कमजोर पारिँदै छ, विदेशीका लाभका लागि । कानुन कमजोर हुनु भनेको राष्ट्र दयनीय बन्नु हो, न्यायालयलाई अपराधशाला बनाउनु हो । यो सत्य थिङ्क टेंकहरूले कहिले बुझेनन् । स्वतन्त्रतालाई गुलामवादसँग साटिरहेको व्यापार हो यो । लोकतन्त्रमा ठगविद्या जान्नेहरूले मह लेपन गरेर विष बेचिरहेका छन् । नागरिक शास्त्रका ज्ञाताहरूले बुझेर बुझपचाउँछन् । देश पराधीन भएपछि तिनका सन्तानले पाउने कमारो जुनी नै हो, किन मुखमा लोभको ठेडी कोचेर मौन रहेका छन् ? आउने पुस्तालाई १९७५ पछिको सिक्किमको नियति दिने कि स्वतन्त्र नेपाल ? यत्ति विषयमा समेत हाम्रा नेताहरु बहस गर्दैनन् ।
महाभारतका अनुसार जब जब असत्य बढ्छ, श्रीकृष्णको उदय हुन्छ । अन्धा धृतराट्रको भीमसेनलाई अँगालोमा कसेर धुलोपिठो पार्ने षड्यन्त्र थाहा पाएपछि श्रीकृष्णले चलाखीका साथ फलामको नक्कली भीम बनाएर धृतराष्ट्रका सामु उभ्याइदिएका थिए । धृतराष्ट्रले अँगालो मारेर नक्कली भीम चकनाचुर पारिदिएपछि, धृतराष्ट्रको होस् खुल्यो, लज्जित भए । असली भीम बाँचे । यतिबेला राष्ट्ररूपी भीम खतरामा छ, धृतराष्ट्ररूपी शासक र गान्धार नरेश शकुनीको अन्त्यका लागि कुनै श्रीकृष्णावतारको प्रतीक्षा भइरहेछ । ती श्रीकृष्णरूपी सूर्योदय कहिले हुन्छ, श्रीकृष्णको पदार्पण कहिले हुन्छ ?
भुइँमान्छेको तक्दिर खोटो हो कि छाती कमजोर ? राष्ट्र खिइँदो छ, नेताहरू खाइलाग्दा देखिंदैछन् । राष्ट्र चुसेर डकार्नेहरू राजनेता मै हुँ भनेर भ्यागुतो उफ्रे झैं उफ्रेको देखिन्छ । यो सबै दुर्योधन अहङ्कार हो ।
नेपालको लोकतन्त्र दुर्योधनहरु चलाइरहेका छन् ।

footer