kumari
stcnepal

पाकिस्तानको राष्ट्रपतिमा सत्ता गठबन्धनका उम्मेदवार जरदारी विजयी

पाकिस्तानको राष्ट्रपतीय निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवार आसिफ अली जरदारी भारी मतका साथ विजयी भएका छन् ।

पाकिस्तानको निर्वाचन आयोगले जनाएअनुसार जरदारीले संसद् र चार प्रान्तीय सभालगायत सबै निर्वाचक मण्डलबाट ४११ मत ल्याएर विजयी भएका हुन् । जरदारीले सिनेट र नेसनल एसेम्बलीलगायत संसद्को दुई सदनको संयुक्त सत्रमा २५५ मत प्राप्त गरेका छन् भने पूर्वी पञ्जाब प्रान्तबाट ४३ मत, उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तबाट ८ मत, दक्षिणपश्चिम बलुचिस्तान प्रान्तबाट ४७ मत र दक्षिणी सिन्ध प्रान्तबाट ५८ मत प्राप्त गरेका जनाइएको छ ।

जरदारीका प्रतिद्वन्द्वी विपक्षी दलका संयुक्त गठबन्धनका उम्मेदवार महमुद खान अचकजाईले कुल १८१ मत प्राप्त गरेका छन् । ६८ वर्षीय जरदारीले शुक्रबार विदाइ भएका निवर्तमान राष्ट्रपति आरिफ अल्वीको स्थान लिनेछन् । सन् २००८ देखि २०१३ सम्म ११औं राष्ट्रपति रहेका जरदारीको उक्त पदमा यो दोस्रो विजय हो । जरदारी सन् २०२४ फेब्रुअरी ८ मा भएको आम निर्वाचनमा राष्ट्रियसभा सदस्य निर्वाचित भएका थिए । राष्ट्रपतिको शपथ लिनुअघि उनले राष्ट्रिय सभाबाट राजीनामा दिनुपर्नेछ।

footer