kumari
stcnepal

सिद्धान्त र नीति नै नमिल्नेसँग गठबन्धन गर्नु नै गलत ?

 

२०७९ पुस १० गते नेकपा एमाले, माओवादी, रास्वपा, राप्रपा सहित अन्य दलसहित बनेको सहमति अनुसार प्रधानमन्त्रीमा नियुक्त भएका माओवादी केन्द्रका अध्यक्ष समेत रहेका पुष्पकमल दाहालले आफू प्रधानमन्त्री बनेको ३ महिना नपुग्दै राष्ट्रपतिको निर्वाचनमा एमाले सहितका दलहरुसँगको सहमति तोडेर कांग्रेसको शरणमा पुगेर प्रधानमन्त्रीमा टिकिरहेका थिए । तर कांग्रेसको महासमिति बैठकमा प्रस्तुत भएका विषयहरुलाई देखाएर प्रधानमन्त्री दाहालले फागुन २१ गते नेपाली कांग्रेससँग भएको सहमति तोडेर पुन नेकपा एमाले, रास्वपा, राजपासहितको गठबन्धनमा बनाएका छन् । नेकपा एमालेसँगको गठबन्धनमा नेकपा एमालेबाट विभाजित भएको माधव नेपाल नेतृत्वमा बनेको नेकपा एकीकृत समाजवादी पार्टी समेत सहभागी भएको छ । २०७९ पुस १० गते नेकपा एमालेसँग गठबन्धन हुँदा नेकपा एकीकृत सरकारमा आएको थिएन । तर माओवादीले एमालेसँगको गठबन्धन तोडेर कांग्रेससँगको गठबन्धन गरेर सरकार निर्माण गर्दा एकीकृत समाजवादी पार्टी सरकारमा गएको थियो ।
माओवादी केन्द्रले कांग्रेससँग गठबन्धन गर्दा ठीक र एमालेसँग गठबन्धन गर्दा बेठिक भन्ने भाष्यलाई कांग्रेसले जोडतोडले उठाइरहेको छ । कांग्रेस र माओवादी केन्द्रको सिद्धान्त र विचारै मिल्दैन । कांग्रेस आफूलाई लोकतान्त्रिक पार्टी भन्दछ तर उसले कसरी एकदलीय सोँच भएको माओवादी केन्द्रसँग गठबन्धन ग¥यो ? यो नै अनौठो विषय बनेको थियो । कम्युनिष्ट पार्टीहरु विभाजत हुँदै पुन एक हुँदै आएका र उनीहरुबीचको सिद्धान्त र विचार मिल्ने भएकाले गर्दा कम्युनिष्टहरु एक भए भनेर कांग्रेस लगायत अन्य लोकतान्त्रिक पार्टीहरुले चित्त दुखाउनुपर्ने कुनै कारण देखिँदैन । पछिल्लो समयमा माओवादीले कांग्रेससँग चित्त दुखाउनुको कारण कांग्रेसको महासमितिको बैठकमा तत्कालिन उपप्रधान एवं रक्षामन्त्री समेत रहेका पार्टीका उपसभापति पूर्णबहादुर खड्काले बैठकमा प्रस्तुत गरेका प्रस्तावमा माओवादीले चलाएको २०५२ देखिको १० वर्षे अनावश्यक जनयुद्धले गर्दा देशमा आर्थिक विकास र विकास निर्माणमा अवरोध भएको भन्ने शब्दलाई माओवादीले आपत्ति जनाएको छ ।
त्यसैगरी महामन्त्री गगन थापाले प्रस्तुत गरेको पार्टीको कार्ययोजनामा अब आइन्दा कुनै पार्टीसँग गठबन्धन नगर्ने र एक्लै निर्वाचनमा जाने अनि आफ्नो पार्टीका शुभचिन्तक र कार्यकर्तालाई आफ्नो चुनावचिन्ह रुख बाहेक अरुमा मतदान गर्न नलगाउने भन्ने प्रस्तावमा माओवादीले चित्त दुखाएको देखियो भने महासमितिको बैठमा महासमितिका बहुमत सदस्यहरुले हस्ताक्षर गरेर नेपललाई हिन्दुराष्ट्र नै कायम गरिनुपर्दछ भन्दै हस्ताक्षर पार्टी सभापतिलाई बुझाएको र कांग्रेस कालान्तरमा हिन्दुराष्ट्रकै पक्षमा जाने सम्भावना देखिएकोले गठबन्धन तोड्नु परेको बताउँदै आएको भएपनि त्यसैलाई मात्र आधार मान्नुपर्ने अवस्था देखिँदैन ।
कांग्रेससँगको गठबन्धन तोडिनुमा कांग्रेसबाट मन्त्री बनेकाहरु र पार्टी सभापति समेत दोषी देखिएका छन् । प्रधानमन्त्री दाहालले आफूले गर्न खोजेको कुराहरुमा मन्त्रीहरुले अवरोध गरेको र मन्त्रीहरुले प्रधानमन्त्रीलाई भन्दा अरुलाई नै बढी विश्वास गरेका हुनाले पनि गठबन्धन तोड्नुपरेको बताइसकेका छन् । कांग्रेसले पनि आफूसँग गठबन्धन गर्दा त्यही माओवादी ठीक अरुसँग गर्दा माओवादी बेठिक भन्ने भाष्य निर्माण गर्न खोज्नु कुनै हालतमा पनि उचित मान्न सकिँदैन । आफ्नो पार्टीको नीति र सिद्धान्त नै नमिल्ने पार्टीसँग गठबन्धन गर्नु नै बेठिक थियो ।
माओवादीले आफूलाई कांग्रेसले पटक पटक धोका दिएको बताउँदै आएको छ तर गत निर्वाचनमा कांग्रेस, माओवादी लगायतका दलहरु एक्लाएक्लै निर्वाचनमा गएका भए नत कांग्रेसले अहिलेको जति संख्या ल्याउन सक्थ्यो नत माओवादीले नै । त्यस्तो अवस्थामा कांग्रेस सहितसँगको गठबन्धन बनाउने रणनीति माओवादीका लागि पनि फाइदाजनुकै रहेको थियो । कांग्रेस, माओवादी राजपा र माधव नेपालले नेतृत्व गरेको एकीकृत समाजवादीले त्यही चुनावी गठबन्धन गरेको हुनाले उनीहरुले अहिलेको संख्या ल्याएका हुन् । एक्लाएक्लै निर्वाचनमा गएका भए नेकपा एमालेलाई सबै भन्दा ठुलो दल बन्न कुनै तागतले समेत रोक्न सक्ने अवस्था थिएन भने त चुनावी परिणामले नै देखाईसकेको छ ।
४÷५ दलसँग गठबन्धन गरेर चुनावमा गएको कांग्रेसले एक्लै निर्वाचन लडेको एमालेभन्दा प्रत्यक्षतर्फ १० मात्र बढी सिट ल्याएको तथ्यले नै कुन पार्टी कति हैसियतमा रहेछ भन्ने प्रमाणित भएको थिएन र ? संसदमा ४÷५ दलको सहयोगमा चुनाव लड्दा कांग्रेसका संख्या ८९ होइन र अनि एमालेको ७९ थियो । यी सबै तथ्यहरुले नै प्रमाणित गर्दछ आफूले जे गर्दा पनि ठीक अनि अरुले गर्दा बेठिक भन्ने भाष्यलाई कांग्रेसले सुधार गर्नैपर्दछ । पहिला एमालेसँगको गठबन्धन कांग्रेसले तोड्दा त महान् कार्य ग¥यौँ भनेर कांग्रेसजनहरु कुर्लिने गर्दथे अहिले गठबन्धन तोडिँदा एमालेले धोका दियो माओवादीले धोका दियो भनेर रुवाबासी गर्नुको कुनै औचित्य छैन रहेछ भन्ने हामीले ठानेका छ । राजनीतिमा सबै कुरा जायज हुन्छ सत्ताका लागि भन्ने हेक्का सबैमा होस् ।

footer