काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लगानी सम्मेलन मार्फत धेरै लगानी ल्याउनको लागि कानुन संशोधनलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन् । बिहीबार बसेको लगानी बोर्डको ५७ औँ बैठकलाई सम्बोधन गदै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । प्रधानमन्त्रीले पूर्वाधार तथा सेवा क्षेत्रमा विदेशी लगानी ल्याउन कानुन संशोधनलाई प्राथमिकता दिनु जरुरी रहेको बताए । उनले लगानी सम्मेलनलाई सफल र परिणाममुखी बनाउन पनि कानुन संशोधन पहिलो प्राथमिकतामा रहेको बताए ।
प्रधानमन्त्रीले लगानी सम्मेलनको लागि सम्बन्धित निकायहरूले कङ्क्रिट रूपमा कुन–कुन परियोजना कसरी लैजाने भन्ने तयारी गर्न पनि निर्देशन दिए । उनले लगानी सम्मेलनको लागि सत्ता समीकरण भएपछि केही अप्ठ्यारो आउँछ आउने आकलन भए पनि त्यस्तो नभएको बताए । ‘लगानी सम्मेलनको लागि सत्ता समीकरण भएपछि केही अप्ठ्यारो आउँछ की भन्ने थियो । तर यहाँसम्म आइपुग्दा त्यस्तो केही भएन । लगानीको लागि आकर्षण बढेको छ । सम्मेलनमा आउनेहरूको प्रतिबद्धता अझ बढेका छन्’ उनले भने । प्रधानमन्त्री प्रचण्डले नयाँ सत्ता समीकरणपछि लगानीको लागि अझ आकर्षण बढेको दाबी गर्दै सम्मेलनमा आउनेहरूको प्रतिबद्धता अझ बढेको पनि उल्लेख गरे । उनले अर्थ मन्त्रालय, योजना आयोग सबैबाट सम्मेलनलाई सफल र नेपालमा लगानीको अनुकूल अवस्था रहेको सन्देश दिने गरी काम गर्न समेत आग्रह गरे ।
उनले परम्परागत र सामान्य उपलब्धि दिने गरी काम गरेर नपुग्ने भन्दै निजी लगानी परिचालनमा जोड दिनुपर्ने बताए । देशभित्र सार्वजनिक–निजी साझेदारीको वातावरण विकास गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री दाहालले सबै निकायहरूले पीपीपी परियोजनालाई प्रभाव पार्न सक्ने बोर्डका निर्णयलाई ध्यान दिन निर्देशन दिए ।