kumari
stcnepal

राजनीतिक अस्थिरताको जड प्रधानमन्त्री दाहालको चरित्र

 

पछिल्लो सयमा प्रधानमन्त्री पुष्पकमल दाहालको राजनीतिक चरित्रकै कारण मुलुक अस्थिरताको मार्गतर्फ उन्मुख हुँदै गएको छ । २०७९ पुस १० नेकपा एमाले सहितका दलहरुको समर्थनमा प्रधानमन्त्री बनेका दाहालले २०७९ फागुन २५ गते राष्ट्रपतिको निर्वाचनसम्म आईपुग्दा नेकपा एमाले सहितका दलहरुलाई धोका दिएर कांग्रेसको शरणमा पुगिसकेका थिए । त्यही कारणले गर्दा नेपाली कांग्रेसले राष्ट्रपतिमा रामचन्द्र पौडेललाई बनाउन सक्यो । त्यसबेला माओवादी केन्द्रले राष्ट्रपतिमा पौडेलको पक्षमा मतदान गरेको थियो भने कांग्रेसले प्रधानमन्त्री दाहाललाई समेत विश्वासको मत दिएको थियो । यसरी आफूलाई राजनीतिक खेलाडीका रुपमा राख्दै कहिले एमाले र कहिले कांग्रेसलाई धोका दिँदै आफ्नो र पार्टीगत स्वार्थ पूरा गरिरहेका दाहाल संसदको तेस्रो ठुलो पार्टी माओवादी केन्द्रका अध्यक्ष समेत रहेका छन् ।
कांग्रेस एमालेलाई पालैपालो धोका दिएर पदमा टिकिरहेका भएपनि उनले जनताको हितमा भने कुनै ठोस उपलब्धिमूलक कार्य गर्न सकेका छैनन् । कांग्रेससँगको ११ महिने गठबन्धनको नेतृत्वको सरकार सञ्चालन गरेका दाहालले अहिले कांग्रेसबाट मन्त्री बनेकाहरुले आफूलाई सहयोग नगरेको भन्दै फलाकिरहेका छन् । आफ्नो असफलता र अकर्मण्यता लुकाउनका लागि उनी लागि परेका छन् किन ? चालकले राम्ररी गाडी चलाउन सकेन भने खलासीले केही गर्न सक्दैन, जतिसुकै नयाँ गाडी भएपनि त्यसलाई चलाउने चालकको हातमा नै कसरी सञ्चालन गर्ने भने चावी हुन्छ । मन्त्रिपरिषद्को चालक भनेका प्रधानमन्त्री नै हुन् । हामीले अपनाएको सिस्टम प्रधानमन्त्रिय भएको हुनाले सरकारले गर्ने गरेका सबै कामको जिम्मेवारी स्वयम् प्रधानमन्त्रीले नै लिनुपर्ने हुन्छ मन्त्रीहरुलाई दोष लगाएर प्रधानमन्त्रीले उम्किन पाउँदैनन् ।
२०८० फागुन २१ गते कांग्रेससँगको गठबन्धन तोडेर नेकपा एमाले सहितका अन्य दलहरुसँग गठबन्धन गरेर सरकारको नेतृत्व गरेका प्रधानमन्त्री दाहालले आफूले फेरी अर्को उथलपुथल गर्न सक्ने अभिव्यक्ति सार्वजनिक रुपमै दिएका छन् । संसदको तेस्रो ठुलो दल भएपनि संसदको पहिलो र दोस्रो ठुलो दलहरुलाई बेवकुफ बनाएर प्रधानमन्त्री बन्न सफल भएका दाहालको काम प्रति नत जनताले आशा एवं भरोसा गरेका छन् नत ठुला दलहरुले नै साँच्चिकै भन्ने हो भने कांग्रेस र एमाले मिलेर सरकारको निर्माण गरेको खण्डमा पुष्पकमल दाहालको अबस्था कस्तो होला ? राजनीतिक अस्थिरता नहोस् र सरकारले राम्रो काम गर्न सकोस् भनेर सत्ता गठबन्धनमा रहेको ठुलो दल नेकपा एमालेले सरकार निर्माण देखाएको उदारता र त्यसका अध्यक्ष केपी ओलीले सरकारको नेतृत्व आलोपालो भन्ने सहमति भएको छैन भन्ने अभिव्यक्ति दिइसकेको अवस्थामा किन प्रधानमन्त्री दाहालले अर्को उथलपुथल हुन सक्छ भन्ने अभिव्यक्ति दिनु नै रहस्यको विषय बनेको छ ।

सरकार बनाउने र गिराउने कार्य भैरहँदा कर्मचारीतन्त्रमा समेत नकारात्मक असर पर्ने र उनीहरुले जनतालाई आवश्यक पर्ने सेवा सुविधा समेतदिन नसकने अवस्थामा उनीहरु पुग्ने भएकलो गर्दा त्यसको प्रत्यक्ष मार जनतामा पर्ने निश्चित जस्तै रहेको छ । नयाँ सत्ता गठबन्धनको नेतत्व गर्दै प्रधानमन्त्री बनेका प्रधानमन्त्री दाहालले पटक पटक उथल पुथलको उद्घोष गर्नु उनको आफ्नै कमजोरी र पराजित मानसिकता बाहेक अन्य केही हुन सक्दैन । अहिले प्रधानमन्त्री दाहालमा राजनीतिक अस्थिरता देखिएकोले गर्दा राजनीतिक अस्थिरताको जड पनि प्रधानमन्त्री दाहालकै चरित्र हो भन्नुमा कुनै आपत्ति नहोला । राजनीतिक अस्थिरताको जड प्रधानमन्त्री दाहालको चरित्र नै हो ।
मुलुको विकास निर्माण र जनतालाई डेलिभरी दिनको लागि बलियो र भरपर्दो सरकारको आवश्यका पर्दछ । पटक पटक सरकार परिवर्तन हुँदा जनतामा समेत नकारात्मक असर पर्ने र विकास निर्माणले समेत गति लिन नसक्ने भएकाले गर्दा बलियो सरकार नै आजको पहिलो आवश्यकता हो । त्यही कारणले गर्दा टालाटुली बाटुली कतिराम्री पुतली भन्ने जस्तो सरकार बनाउनु भन्दा कांग्रेस र एमाले मिलेर सरकार निर्माण गरी हालतका संसदको पुरै समय सरकार सञ्चालन गर्नु नै अहिलेको पहिलो आवश्यकता हो । कांग्रेस र एमाले दुई दल मिल्दा झण्डै दुई तिहाई पुग्ने र अर्को एक दललाई साथमा लिएको खण्डमा दुई तिहाई पुग्ने भएको र तेस्रो ठुलो दल माओवादी केन्द्रलाई प्रमुख प्रतिपक्षी दलमा बस्न बाध्य बनाइनु नै अहिलेको आवश्यकता हो भन्ने हामीले ठानेका छौँ ।

footer