kumari
stcnepal

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमालेका नेता खगराज अधिकारी नियुक्त

कास्की — गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारी नियुक्त भएका छन् । आइतबार मुख्यमन्त्रीमा दाबी पेस गरेका अधिकारीलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नियुक्त गरेका हुन् ।

संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री पदमा नियुक्त गर्न सकिने व्यवस्था छ । एमालेका २२, सभामुख सहित माओवादी केन्द्रका ८ र स्वतन्त्र १ गरी ३१ जनाको समर्थन सहित अधिकारीले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । अधिकारी यसअगाडि पनि गण्डकीका मुख्यमन्त्री थिए ।

गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले चैत २१ मा राजीनामा दिएपछि प्रदेश प्रमुख भट्टले संविधानको धारा १६८ (२) अनुसार सात दिनभित्र चैत २७ गते ३ बजेभित्र दाबी पेस गर्ने समय दिएका थिए । नवनियुक्त मुख्यमन्त्री अधिकारीको शपथ आजै हुने कार्यक्रम रहेको छ । प्रदेश प्रमुख कार्यालयका अनुसार शपथ ग्रहण कार्यक्रम दिउँसो साढे ३ बजे राखिएको छ ।

कांग्रेसले भने एमाले-माओवादीको दाबी असंवैधानिक भएको भन्दै अधिकारीलाई मुख्यमन्त्री नियुक्त नगर्न प्रदेश प्रमुख भट्टसमक्ष अनुरोध गरेको थियो । सभामुख दलको साधारण सदस्य समेत नरहने अवस्थामा उनको समर्थनमा सरकारमा दाबी गर्नु असंवैधानिक हुने कांग्रेसको ठहर छ । कांग्रेसले प्रदेश प्रमुखलाई कोशी प्रदेशको नजिर समेत स्मरण गराएको थियो ।

footer