kumari
stcnepal

दुर्गा प्रसाईंलाई आयात अनुमति दिएको भन्दा फरक हतियार आयात भएर आएको निष्कर्ष

दुर्गा प्रसाईंलाई आयात अनुमति दिएको भन्दा फरक हतियार आयात भएर आएको निष्कर्ष छानबिन समितिले निकालेको छ  गृह मन्त्रालयको अनुमति बमोजिम हतियार आयात गर्न दिइएको भन्दा फरक प्रकृतिको हतियार प्रसाईंले आयात गरेको हुनाले छानबिन समितिले वाणिज्य विभाग र भन्सार विभागलाई पत्र काटेको छ ।

‘जुन हतियार आयात गर्नका लागि अनुमति दिइएको थियो, सोहीबमोजिमको हतियार आयात भएको देखिँदैन,’ छानबिन समितिका सदस्य एकदेव अधिकारीले  भने, ‘आयात अनुमति दिइएको स्पेसिफिकेसन बमोजिमको हतियार नभएर फरक प्रकृतिको हतियार कसरी आयात भयो भनी समितिले वाणिज्य विभागलाई पत्र लेखेको छ ।’ अटोमेटिक हतियार ल्याउनका लागि अनुमति नदिइएको तर प्रसाईंले ल्याएको हतियार अटोमेटिक नै रहेको छानबिन समितिको निष्कर्ष छ ।

‘सम्बद्ध वाणिज्य विभाग र भन्सार विभागलाई हामीले पत्राचार गरेर भन्सारमा जुन प्रज्ञापन पत्र छ, त्यही प्रज्ञापन पत्रबमोजिम भयो कि भएन ? भएन भने कसरी हुन गयो भनेर छानबिन समितिले पत्राचार गरेको हो,’ अधिकारीले थपे, ‘अहिले हामीले प्रतिवेदन लेख्न शुरू गरे पनि सबैतिरबाट जवाफ आएपछि प्रतिवेदन लेखनको काम टुंग्याएर बुझाउनेछौं ।’ इजाजत पाएको हतियार भन्दा फरक हतियार आयात भएको कुरालाई परीक्षण गर्नका लागि प्रहरी ल्याबमा पठाइएको भएपनि त्यसको परीक्षण प्रतिवेदन अझैसम्म आइनसकेको उनले खुलाए ।

प्रसाईको हतियार सम्बन्धमा छानबिन गर्न गृह मन्त्रालयले गठन गरेको समितिले छानबिन लगभग टुंग्याएको छ । मन्त्रालयका सहसचिव राजेन्द्र देव पाण्डेको संयोजकत्वमा गत चैत १६ गते १५ दिनको म्यादसहित छानबिन समिति गठन भएको थियो । छानबिन समितिमा गृह मन्त्रालयका कानून उपसचिव ऋषि पौडेल, सूचना अधिकारी समेत रहेका उपसचिव एकदेव अधिकारी र प्रहरी उपरीक्षक सन्तोष भट्टराई सदस्य छन् । समय अभाव भएकाले समितिलाई थप १ हप्ताको समय प्रदान गर्न भनिएको छ । छानबिन समितिका सदस्य ऋषि पौडेल र प्रहरी उपरीक्षक सन्तोष भट्टराई जिल्ला प्रशासन कार्यालय झापा पुगेर फर्किएका छन् ।

सबै कागजात हेर्ने, बुझ्ने, भेरिफाइ गर्ने, संलग्न कर्मचारी तथा पदाधिकारीसँग बुझ्ने लगायतका प्रारम्भिक कार्य सकिएको छानबिन समिति सदस्य अधिकारीले बताए । २०७५ असार २१ गते प्रसाईंले जिल्ला प्रशासन कार्यालय झापाबाट हतियार प्रयोगको अनुमति पाएका थिए । २०७९ पुस ७ मा २०८१ असार मसान्तसम्मका लागि इजाजत नवीकरण समेत भएको देखिएको छ । नेपाल राज्यभर जुनसुकै अवस्थामा लिएर हिँड्न पाउने साथै प्रयोग गर्न पाउने इजाजत पत्रमा उल्लेख छ ।

footer