kumari
stcnepal

विराटनगरको रानीमा आज बिहीबार पनि झडप

विराटनगर । विराटनगरको रानीमा बिहीबार पनि झडप भएको छ ।

बुधबार रामनवमीको अवसरमा एउटा समूहले निकालेको र्‍यालीलाई अर्को समूहले अवरोध गरेपछि झडप सुरु भएको थियो । त्यतिबेला प्रहरीले बल प्रयोग गरेर दुवै समूहलाई तितरबितर पारेको थियो । सोही विषयमा बिहीबार दिउँसो केही व्यक्तिले सभा गरेपछि प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको थियो । प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको विरोधमा सुरु भएको प्रदर्शन उग्र भएपछि प्रहरीसँग झडप भएको हो । झडपमा डीएसपी वेदप्रकाश जोशी सहित सात जना प्रहरी सामान्य घाइते भएका प्रहरीको भनाइ छ ।

जिल्ला प्रशासन कार्यालय मोरङले अनुमति नलिई सभा जुलुस तथा भेला नगर्न बिहीबार सूचना जारी गरेको थियो । तर साढे ३ बजे विराटनगर महानगरपालिका-१५ रामजानकी मन्दिर अगाडि ८-९ जनाको समूह भेला भएको थियो । भेला भएकामध्ये विराटनगर महानगरपालिका-१५ का २६ वर्षीय राजन झा, विराटनगर-१५ कै २४ वर्षका रितेश झालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । त्यसको विरोधमा बिहीबार बेलुका ५ बजे एउटा समूहले आन्दोलन सुरु गरेको थियो ।

आन्दोलनरत टोलीलाई प्रहरीले रोक्न खोजेपछि झडप भएको थियो । स्थिति नियन्त्रणमा लिन ८ सेल अश्रुग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

footer