kumari
stcnepal

पार्टीगत र व्यक्तिगत स्वार्थ त्याग, कांग्रेस–एमाले मिल

 

काठमाडौ । २०७९ पुस १० गते प्रधानमन्त्रीमा निुक्त भएका माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री दाहाललाई त्यति बेला एमाले सहितका दलहरुले समर्थन गरेका थिए तर प्रधानमन्त्री दाहालले एमालेसहितका दलहरुको समर्थनलाई तोडेर काग्रेस गठबन्धन बनाउन पुगे । कांग्रेससँगको गठबन्धनको सरकार १ वर्ष सम्म टिक्यो ।
२०८० फागुन २१ गते प्रधानमन्त्री दाहालले कांग्रेससँगको गठबन्धन तोडेर फेरी एमाले सहितका दलहरुको समर्थन लिएर प्रधानमन्त्रीमै रहिरहे । दाहाललाई एमाले, रास्वपा, एकीकृत समाजवादी, जनता समाजवादी र नागरिक उन्मुक्ति पार्टीले समर्थन गरिरहेका छन् । तर यसै बीचमा नागरिक उन्मुक्ति पार्टीभित्रको विवाद सडकमै पोखिएकाले गर्दा दाहाल सरकार संकटमा पर्ने अवस्था सिर्जना भएको छ भने एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल समेत प्रधानमन्त्री दाहालसँग रुष्ट बन्दै गएकाले गर्दा सरकारको आयुको बारेमा चर्चा चल्न थालेको छ ।
प्रधानमन्त्री दाहालले आफू बाँचुन्जेल राजनीतिक उथलपुथल हुने उद्घोष पहिला नै गरिसकेका हुनाले फेरी अर्को उथल पुथल हुने सम्भावना बढेर गएको छ । स–साना पार्टीहरुको समर्थन लिएर सरकार टिकाई राख्नु फलामको च्युरा चपाउनु सरह भएको र साना दलहरुले आफ्नो हैसियत भन्दा बढी माग गरी प्रधानमन्त्रीलाई धम्क्याएर आफ्नो स्वार्थ पूरा गर्ने गरेका हुनाले सरकारले जनताले चाहे जस्तो काम गर्न सकिरहेका छैन ।
विकास निर्माणले गति लिन नसकेको यस्तो अवस्थामा अब कांग्रेस र एमालेले आ–आफ्नो स्वार्थ त्यागेर कांग्रेस–एमालेको संयुक्त सरकार बनाउनु नै मुलुकको हितमा हुनेछ । कांग्रेस–एमालेको सरकार निर्माण भएमा त्यो सरकार स्थिर हुने र विकास निर्माणले समेत गति लिन सक्ने सम्भावना देखिएको छ ।
पार्टीगत र व्यक्तिगत स्वार्थलाई त्यागेर कांग्रेस–एमाले मिल्नुको अर्को विकल्प देखिँदैन । साना दलहरुको समर्थनमा बनेका सरकारहरु सरकारका लागि सरकार मात्र भएका र साना दलहरुले प्रधानमन्त्रीलाई दिएको विश्वासको मत फिर्ता लिने भन्दै धम्क्याएर आफ्नो स्वार्थ पूरा गर्ने प्रयास गरेका हुनाले उनीहरुलाई साइजमा राख्नुपनि कांग्रेस–एमाले मिल्नुको विकल्प देखिँदैन । यदि त्यसो भएमा माओवादी समेत साइजमा आउने निश्चित जस्तै रहेको छ ।

footer