kumari
stcnepal

आज महावीर जयन्ती मनाँइदै

काठमाडौं । आज चैत्र शुक्ल त्रयोदशीको दिन २६२३ औं महावीर जयन्ती मनाइँदै छ । नेपालसहित विश्वभर छरिएर जैन धर्मका दिगम्बर तथा श्वेताम्बर दुवै सम्प्रदायले हर्षोल्लासपूर्वक मनाउँछन् । यस दिनलाई महावीर जन्मकल्याणक समेत भनिन्छ ।

करिब २६ सय वर्षअघि वैशाली गणतन्त्र (हाल भारत बिहारको मुजफ्ररपुर जिल्लाको बसाढ गाउँ) को क्षत्रीय कुण्डलपुरमा बाबु सिद्धार्थ तथा आमा त्रिशलाका तेस्रो सन्तानका रूपमा वर्धमानको जन्म भएको थियो । उनै बर्धमान पछि महावीर स्वामी बनेका थिए । महावीर स्वामी जैन धर्मका प्रवर्तक हुन् । उनी अहिंसाका प्रतीक थिए । उनको जीवन त्याग एवं तपस्याले ओतप्रोत थियो । जुन युगमा हिंसा, पशुबली, जातपातको भेदभाव थियो त्यसै युगमा जन्मिएका महावीरले संसारलाई सत्य एवं अहिंसाको पाठ पढाएका थिए ।

महावीरले आफ्ना अनुयायीहरूका लागि मोक्षका पाँच मार्ग अहिंसा, सत्य, अचौर्य, ब्रह्मचारी र अपरिग्रहका सिद्धान्तहरू परिपालन गर्न सिकाएका थिए । नेपालमा वैदिक, बौद्ध, जैन, शिखलगायतका समुदायबाट प्रत्येक वर्ष उत्साहपूर्वक महावीर जयन्ती मनाउने गरिएको छ । उनीहरुले महावीरलाई भगवानको रुपमा पुज्ने गर्दछन् ।

footer