kumari
stcnepal

कुलेखानी -मातातीर्थ सडक बैशाख ३१ गतेसम्म बन्द हुने

हेटौँडा । हेटौँडा काठमाडौँ जोड्ने छोटो दुरीको कुलेखानी मातातीर्थ सडक वैशाखभर बन्द हुने भएको छ । स्तरोन्नतिका लागि हेटौँडा–कुलेखानी–महालक्ष्मी दोभान–घट्टेखोला–चखेल–मातातीर्थ सडक वैशाख मसान्तसम्मका लागि बन्द गरिने भएको हो । मकवानपुर र काठमाडौँ दुवैतर्फ स्तरोन्नतिको काम भइरहेकाले सडक बन्द गरिएको हो ।

स्तरोन्नतिसहित कालोपत्रे गर्न वैशाख १० गतेबाट ३१ गतेसम्मका लागि कुलेखानी–महालक्ष्मी दोभान–घट्टेखोला–चरखेल–माततीर्थ सडक बन्द रहने इन्द्रसरोवर गाउँपालिका वडा नम्बर–५ को कार्यालयले जनाएको छ । महालक्ष्मी दोभान–घट्टेखोला–चखेल माततीर्थ सडकअन्तर्गत मकैवारीदेखि माततीर्थसम्म सडक खण्डमा बेस बिछ्याउने र कालोपत्रे गर्ने काम भइरहेको इन्द्रसरोवर–५ का वडाध्यक्ष दुतराज तितुङले बताए । उक्त सडक खण्डमा कालोपत्रेलगायत सडक स्तरोन्नतिको कार्य भइरहेकोले वैशाख ३१ गतेसम्मका लागि सडक बन्द गरिएको उनले बताए ।

उनका अनुसार काठमाडौँको चन्द्रागिरि नगरपालिका–८ को कार्यालयले पनि सडक बन्द गरेको छ । सतुंगल–मातातीर्थ–देउराली–कुलेखानी सडक अन्तर्गत पूर्वाधार विकास कार्यालय, ललितपुरमार्फत निर्माण कार्य गर्न सडक बन्द गरिएको हो । उक्त सडकमा सवारीको चाप अत्यधिक भई निर्माण कार्य गर्न असहज भएको भन्दै पूर्वाधार विकास कार्यालयले पूर्णरुपमा बन्द गराई सहजीहरण गर्न आग्रह गरेको थियो । सोही अनुसार वैशाख ३० गतेसम्मका लागि बन्द गरिएको उनको भनाई छ ।

यसअघि निर्माणाधीन महालक्ष्मी दोभान–घट्टेखोला–चखेल मातातीर्थ सडक नयाँ वर्षको अवसरमा खुला गरिएको थियो । इन्द्रसरोवरको मार्खु कुलेखानी क्षेत्र पर्यटकीय गन्तव्यको रूपमा विकास भइरहेको भन्दै नयाँ वर्षको अवसरमा पर्यटकलाई आवतजावतमा सहजताका लागि खुला गरिएको हो ।

footer