kumari
stcnepal

तीन दशकका अभ्यासहरूलाई सच्याउन समय त लाग्ने भन्दै धेरै काम भइरहेकाले थोरै धैर्य गरिदिन गृहमन्त्री रवि लामिछानेको आग्रह

काठमाडौँ । गृह तथा उपप्रधानमन्त्री रवि लामिछानेले कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणका अवसरमा सरकारले दिएको सार्वजनिक बिदाको आलोचना भएपछि विगतका कयौँ निर्णय र परम्परालाई नीतिगत निर्णय गरेर सच्चाउनुपर्ने जवाफ दिएका छन् । लामिछानेले सामाजिक सञ्जाल फेसबुकमा विगतका कतिपय निर्णय र परम्परालाई नीतिगत निर्णयमार्फत सच्चाउनुपर्ने बताएका हुन् ।

लामिछानेले यसअघि २७ अक्टोबर २०१६ मा चिनियाँ राष्ट्रपति नेपाल आउँदा तत्कालीन सरकारले बिदा दिएकोमा सामाजिक सञ्जालमा आलोचना गरेका थिए । उक्त पोस्टको स्क्रीनसट भाइरल भइरहेको छ । त्यसबेला आलोचना गर्ने लामिछाने हाल आफै गृहमन्त्री भएर पनि भीआईपी सवारीका नाममा बिदा दिएको भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेको छ ।

‘..तर विधि नै नफेरीकन कुनै व्यक्ति, देश वा घटना हेरेर फरक फरक निर्णय गरिनु कूटनैतिक, राजनैतिक र वैधानिक हिसाबले सही हुन्न,’ आलोचकलाई जवाफ दिँदै लामिछानेले भनेका छन्, ‘जे कुरा हिजो गलत भनिएको थियो त्यो आज पनि गलत नै हो, हिजोका अभिव्यक्तिहरूको गोताखोरी गर्नै पर्दैन ।’ तर तीन दशकका अभ्यासहरूलाई सच्याउन समय त लाग्ने भन्दै धेरै काम भइरहेकाले थोरै धैर्य गरिदिन आग्रह गरेका छन् ।

footer