kumari
stcnepal

कर्णाली प्रदेशका मुख्यमन्त्री कँडेलले बिहिवार विश्वासको मत लिने

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेशसभामा बिहीबार विश्वासको मत लिनेस्म्बन्धी प्रस्ताव दर्ता गराएका छन् । नेकपा एमालेका प्रमुख सचेतक टेकराज पछाईंले प्रदेशसभामा मङ्गलबार मुख्यमन्त्री कँडेलले विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव दर्ता गराएको जानकारी दिए ।

उनका अनुसार सत्ता गठबन्धनमा मन्त्रालयको टुंगोसमेत लागिसकेको छ । सचेतक पछाईंले भने, ‘भोलि माओवादीबाट मन्त्रीले सपथ लिने भन्ने छ । त्यसपछि बिहीबार मुख्यमन्त्रीले विश्वासको मत लिएपछि मन्त्रिपरिषद्ले पूर्णता पाउनेछ ।’ यसअघि एमाले र माओवादीबीच मन्त्रालय भागबन्डामा सहमति जुट्न नसक्दा सरकार विस्तारमा सकस भएको थियो । एमाले र माओवादीबीच मङ्गलबार मन्त्रालय भागबन्डाको सहमति जुटेसँगै बुधबार माओवादीबाट मन्त्रीले सपथ लिने माओवादी केन्द्रका संसदीय दलका प्रमुख सचेतक रणसिंह परियारले जानकारी दिए ।

उनका अनुसार भोलि केही मन्त्रीहरुले शपथ लिनेछन् । माओवादीले आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास मन्त्रालय, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय र जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय आफ्नो भागमा पारेको छ । भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय एमालेको भागमा परेको छ । यसअघि अरु मन्त्रालयमा सहमति जुटे पनि सामाजिक मन्त्रालयमा कुरा मिलेको थिएन । मन्त्रालयको भागबन्डा टुंगोमा पुगे पनि माओवादीभित्र यसअघिका मन्त्रीहरु नै दोहोरिने कि नयाँ सहभागी हुने भन्ने विषय टुंगिएको छैन ।

footer