kumari
stcnepal

सुदुरपश्चिम प्रदेशमा नाउपालाई थप एक मन्त्रालय दिन सत्ता साझेदार दल सहमत

काठमाडौँ । सुदुरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टी (नाउपा)लाई थप एक मन्त्रालय दिन सत्ता साझेदार दल सहमत भएका छन् । मंगलबार बसेको प्रदेशका सत्ता साझेदार दलको बैठकले नाउपालाई थप एक मन्त्रालय दिने सहमति भएको एकीकृत समाजवादीका सांसद प्रकाश रावलले जानकारी दिए ।

‘नाउपाबाट पहिला नै एक जना मन्त्री भइसक्नुभएको छ । थप मन्त्रालय सहित अर्को एकजना लाई पनि मन्त्री बनाउने सहमति भयो’, रावलको भनाइ छ । नाउपाबाट यसअघि कैलाश चौधरी भौतिक मन्त्रीको शपथ खाइसकेका छन् । नाउपाले थप कृषि मन्त्रलाय पाउने लगभग सहमति भएको छ । कृषि मन्त्रीका रुपमा टीका थापालाई आजै शपथ खुवाउने तयारी छ । त्यस्तै मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आगामी शुक्रबारसम्म विश्वासको मत लिने गरी छलफल भएको रावलले जानकारी दिए । एकीकृत समाजवादी सहित एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र प्रदेश सभा सदस्य जोशीको समर्थनमा सोडारी ६ वैशाखमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

एमाले र माओवादी भने सुदुरमा तत्काल सरकारमा नजाने भएका छन् । उनीहरू मुख्यमन्त्रीले विश्वासको मत पाएपछि मात्रै सरकारमा जानेबारे छलफल भएको बुझिएको छ ।

footer