kumari
stcnepal

देशभरका सयौं स्थानमा डढेलो

 

काठमाडौ । देशभर वन डढेलोको अवस्था विकराल बन्दै गइरहेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बुधबार ३९ जिल्लाका एक सय ६५ स्थानमा वन डढेलो लागिरहेको छ ।
वर्षा नभएमा अझै पनि वन डढेलो बढ्दै जाने भन्दै सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन् । यता जल तथा मौसम विज्ञान विभागअन्तर्गत जल तथा मौसम पूर्वानुमान महाशाखाले भने तत्कालका लागि डढेलो नियन्त्रण हुने किसिमको वर्षा नहुने बताएको छ ।
महाशाखाका मौसमविद् गोविन्द झाले आगामी तीन दिनसम्म मुलुकको केही स्थानमा छिटफुट मात्रै वर्षाको सम्भावना भए पनि डढेलो नियन्त्रण हुने गरी पानी नपर्ने जानकारी दिए । ‘आगामी तीन दिनसम्म कोशी, गण्डकी, कर्णालीका केही पहाडी भेगमा आंशिक बदलीसहित छिटफुट वर्षाको सम्भावना रहेको छ’, उनले भने, ‘तर वन डढेलो नै नियन्त्रण हुने किसिमको पानी पर्ने सम्भावना तत्काल छैन । अन्य भू–भागमा भने मौसम सफा रहनेछ ।’
वन डढेलो नियन्त्रणकै कारण ललितपुरमा दुई जनाले ज्यान गुमाइसकेका छन् । गोदावरी नगरपालिका–४ बडीखेलस्थित तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा शङ्कर पहारीको गत मङ्गलबार तथा रमेश पहारीको आज बिहान मृत्यु भएको हो ।
प्राधिकरणका डढेलो विज्ञ सुन्दर शर्माले लामो समयसम्म पानी नपरेको र सुक्खा भएका कारण वन डढेलो नियन्त्रणमा आउन गाह्रो भइरहेको बताए छन् । ‘देशभर डढेलोको अवस्था विकराल बनेको छ । नेपालको भौगोलिक विकटताका कारण नियन्त्रणमा थप समस्या उत्पन्न भइरहेको छ’, उनले भने, ‘पानी परेको छैन तर हावाहुरीले वारिको आगो पारि पु¥याएर डढेलो फैलिरहेको छ ।’
उनका अनुसार डढेलोबाट सल्यान, सुर्खेत, कैलाली, दैलेख, डोटीलगायतका जिल्ला प्रभावित भएका छन् । वन डढेलोका कारण ज्यान र मानवीय बस्ती नै कसरी बचाउने भन्ने चिन्ता भएको उनको भनाइ छ । शर्माले वन डढेलोका कारण बर्सेनि ८० घर जल्ने गरेको जानकारी दिए ।

footer