kumari
stcnepal

गण्डकी प्रदेशमा नेपाली कांग्रेसको सभामुखलाई नै महाअभियोग लगाउने चेतावनी

पोखरा । गण्डकी प्रदेशमा नेपाली कांग्रेसले सभामुखलाई नै महाअभियोग लगाउने चेतावनी दिएको छ । दलका नेता सुरेन्द्रराज पाण्डेले सभामुख तटस्थ नबसे महाअभियोग लगाउनुपर्ने अवस्था आउने चेतावनी दिएका हुन् ।

‘दुर्घटना भएन भने यो संसद्को अवधि साढे ३ वर्ष छ । याद राख्नुस्, सबैभन्दा ठुलो दल नेपाली कांग्रेस हो । यदि कांग्रेसलाई नजरअन्दाज गरिरहनुभयो भने साढे ३ वर्ष कसरी चल्छ हामी पनि हेर्छौँ,’ उनले भने, ‘सभामुखले आफ्नो निर्णय र घोषणा गर्दा पनि संविधानमा लेखिएका कुरा ख्याल गर्नुस् । हरेक व्याख्यामा भनेको छ, संविधानमा पनि भनेको छ । सभामुख रेफ्री हो । तटस्थ बस्नुपर्छ । मेरो अनुरोध छ, तटस्थ बस्नुहोला । समयमै भनिरहँदा पनि अटेर गर्ने हो भने सभामुखले रोष्टममा उभिएर जवाफ दिनुपर्ने हुनसक्छ ।’

पाण्डेले संविधानको विषयमा सर्वोच्चले गरेको व्याख्यामा असहमति जनाए । ‘अदालतले गरेको फैसलामा मेरो पार्टी र मेरो गम्भीर असहमति छ । कोशीमा उही कुरामा एउटा फैसला आयो, गण्डकीमा अर्को निर्णय आयो । यो संविधानको खिलाफमा छ । तर पनि हामी सर्वोच्चलाई मान्ने पार्टीका हौँ । हामी मान्छौँ,’ उनले अघि थपे, ‘कहिल्यै पनि संसारमा नभएको पनि छैन, अदालतका निर्णय बेठिक पनि भएका छन्, सच्याइएका पनि छन् । कुनै कालखण्डमा यो निर्णय सच्याउनेछ । यदि यसरी नै अगाडी बढ्ने र नसच्याउने भने न्याय मर्छ, अदालतप्रतिको विश्वास घट्छ ।’ मुख्यमन्त्री खगराज अधिकारीले संसद्‌मा राखेको विश्वासको मतको प्रस्ताव माथि छलफलमा सहभागी भएका पाण्डेले अधिकारीलाई विश्वासको मत नदिने बताए ।

footer