kumari
stcnepal

सभामुखले आज प्रधानमन्त्री सहित शीर्ष नेताहरूसँग छलफल गर्ने

काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रमुख दलका शीर्ष नेताहरूसँग आज छलफल गर्ने भएका छन् । छलफलका लागि सभामुखले आज बिहान साढे ११ बजे सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा नेताहरूलाई बोलाएका छन् ।

संसद्को वर्षे अधिवेशन सुरु हुनुअघि नै सहकारी प्रकरणमा सहमतिको प्रयासका लागि सभामुखले शीर्ष नेताहरूसँग छलफल गर्न लागेका हुन् । छलफलका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल, ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई बोलाएको सभामुखको सचिवालयले जनाएको छ । सहकारी प्रकरणमा रास्वपा सभापति समेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता सम्बन्धमा छानबिन गर्न संसदीय छानबिन समितिको माग गर्दै प्रमुख विपक्षी कांग्रेसले अघिल्लो अधिवेशनको अन्त्यतिर निरन्तर बैठक अवरोध गरेको थियो ।

कांग्रेसको अवरोधले सदनको कारबाही प्रभावित भएपछि सभामुखले शीर्ष बैठक बोलाएका हुन् । सभामुखले सदनको अवरोध खुलाउन गएको अधिवेशनमा पनि दुई पटक शीर्ष बैठक आह्वान गरेका थिए । तर, सहमति प्रयास सार्थक हुन सकेको थिएन । सहकारी प्रकरणबारे सदनमा उठेका विषयलाई सहमतिमा टुङ्ग्याउन मुख्य सचेतक, प्रमुख सचेतक र सचेतकसँग र कार्य व्यवस्थामा अलग अलग छलफल भएको थियो । संसद्को बर्खे अधिवेशन आगामी २८ गतेदेखि सुरु हुँदैछ । केही दिनयता संसद्को आगामी अधिवेशनलाई प्रभावकारी बनाउन सभामुख घिमिरेले संसदीय समितिका सभापतिहरू र सचेतकहरूसँग सामूहिक र प्रमुख सचेतक तथा मुख्य सचेतकहरूसँग अलग अलग भेट गरिरहेका छन् ।

सभामुखको निजी सचिवालयका अनुसार घिमिरे सभामुख निर्वाचित भएयताको १५ महिनामा ९ पटक शीर्ष बैठक बसेको छ ।

footer