kumari
stcnepal

कांग्रेसले गठबन्धनमा संकट ल्याउने प्रयास गरिरहेको छ : सभापति रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नेपाली कांग्रेसले गठबन्धनमा संकट ल्याउने प्रयास गरिरहेको बताएका छन् ।रास्वपाको संसदीय दलको बैठकमा मंगलबार समसामयिक विषयमा धारणा राख्ने क्रममा लामिछानेले गठबन्धनमा संकट भने नआएको बताए ।

‘गठबन्धनमा संकट ल्याउने नेपाली कांग्रेसको प्रयास छ । तर आएको छैन,’ गृहमन्त्री समेत रहेका लामिछानेलाई उद्धृत गर्दै सहप्रवक्ता मनीष झाले भने, ‘कांग्रेसले कताकताको निर्देशनमा गठबन्धनमा संकट ल्याउने प्रयास गरिरहेको छ । नेपालको राजनीतिमा त्यो स्वभाविक हो, उनीहरूले जानेकै त्यति हो ।’समसायिक, बजेट अधिवेशन र उपनिर्वाचन समीक्षाका लागि रास्वपाले संसदीय दलको बैठक बोलाएको थियो । समय अभावका कारणले उपनिर्वाचनको समीक्षा भने गर्न नसकिएको झाले बताए ।

‘बजेट अधिवेशनको तयारी कसरी गर्ने, विभिन्न साझेदार दलसँग छलफल गर्ने, अघिल्लो अधिवेशनको भन्दा संसद्‌मा राम्रो गर्ने छलफल भयो’ झाले भने ।आजको बैठकमा संसदीय छानबिन समितिका बारेमा छलफल नभएको बताइएको छ । संसदीय छानबिन समिति गठन गर्ने एजेन्डा कांग्रेसको भएकाले रास्वपाको संसदीय दलमा छलफल हुन आवश्यक नरहेको झाले बताए । ‘सत्ता गठबन्धनको छलफलका आधारमा निष्कर्षमा जे पुग्छ, त्यही गर्ने हो । त्यो एजेन्डा कांग्रेसको होला । हाम्रो होइन,’ झाले भने ।

footer