kumari
stcnepal

जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै

काठमाडौं । पार्टी विभाजन विरुद्ध अदालत जाने तयारीमा रहेको जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै छ ।

पार्टी केन्द्रीय कार्यालय बालकुमारी ललितपुरमा बस्ने बैठकले पार्टी विभाजन विरुद्ध अदालत जाने औपचारिक निर्णय गर्ने प्रवक्ता मनिष सुमनले जानकारी दिए ।अशोक राईको नेतृत्वमा सात जना सांसद अलग भई गठन भएको जनता समाजवादी पार्टी (जसपा) सोमबार निर्वाचन आयोगमा दर्ता भएको थियो । तर संसदको बर्खे अधिवेशन आह्वान भइसकेको, दल विभाजनसम्बन्धी अध्यादेश खारेज रहेको र बहुमत केन्द्रीय सदस्य संस्थापन पक्षमै रहेको जिकीर गर्दै जसपा नेपालले आयोगको निर्णय कानुन विपरीत रहेको तर्क गर्दै आएको छ ।

मंगलबार बसेको शीर्ष नेताहरुको अनौपचारिक बैठकले दल विभाजन विरुद्ध कानुनी उपचार खोज्ने निर्णय समेत गरेको थियो । सो निर्णयलाई आजको केन्द्रीय कार्यकारिणी समितिको बैठकले औपचारिकता दिने छ । ‘बैठकमा पछिल्लो विकसित घटनाक्रमको समीक्षा गर्दै त्यसको कानुनी उपचार लगायत बारे निर्णय लिइनेछ’, प्रवक्ता सुमनले भने, ‘बैठकपछि पत्रकार सम्मेलन गरेर आधिकारिक धारणा सार्वजनिक गरिने छ ।’ पत्रकार सम्मेलन बिहान साढे ११ बजे पार्टी केन्द्रीय कार्यालय बालकुमारीमै आयोजना गरिएको छ ।

footer