kumari
stcnepal

बानेश्वरको बुद्धनगरमा फल्चा शैलीको बस बिसौनी आज देखि सञ्चालनमा

काठमाडौं महानगरपालिकाले बानेश्वर क्षेत्रमा निर्माण गरेको फल्चा शैलीको बस बिसौनी आजबाट सञ्चालनमा आएको छ । वडा नम्बर १० का वडाध्यक्ष रामकुमार केसीले उद्घाटन गरेसँगै बस बिसौनी सञ्चालनमा आएको हो ।

सो क्रममा उनले सबैलाई सार्वजनिक सम्पत्तिको संरक्षण गर्न आग्रह गरे । उनले भने,‘हामीले परम्परागत निर्माण सामग्री र शैलीको प्रयोग गरेर नमूना बस बिसौनी बनाएका छौं । यो सार्वजनिक सम्पत्ति भएकाले यसको रक्षा गर्नु सामूहिक दायित्वको हो । बानेश्वर क्षेत्र राजनीतिक आन्दोलनको केन्द्र भएकाले म राजनीतिक दलहरुसँग यस्ता संरचनाहरु आन्दोलनको मारमा नपरुन् भनि आग्रह गर्न चाहन्छु ।’

सोही शैलीका बस बिसौनी अन्य स्थानमा पनि विस्तार गरिँदै लगिने निर्माण समितिका संयोजक एवं वडा सदस्य सतिश तण्डुकारले बताए । भन्छन्,‘बस बिसौनी निर्माणमा स्थानीयको सहभागिता भएकोले यसको संरक्षणका लागि स्थानीयबासीले निगरानी गर्नुहुन्छ । त्यस्तै, नगर प्रहरीले पनि सहयोग गर्नेछन् । यो नमूना अन्यत्र स्थानमा पनि विस्तार हुँदै जानेछ ।’

महानगरले बानेश्वरबाट बबरमहलतर्फ जाने र आउने सडक खण्डमा दुई वटा बस बिसौनी निर्माण गरेको छ । बस बिसौनी निर्माण गर्न ६२ लाख रुपैयाँ लागत लागेको महानगरले जनाएको छ । त्यस्तै, बस्नका लागि काठका मेचहरु पनि राखिएका छन् ।

footer