काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सांसद गीता बस्नेतलाई अदालतमा उपस्थित भएर कानुनको पालना गर्न निर्देशन दिएको छ । सोमबार सम्पन्न सो पार्टीको केन्द्रीय समिति बैठकको निर्णयअनुसार सांसद बस्नेतलाई यस्तो निर्देशन दिएको अध्यक्ष राजेन्द्र लिङ्देनले बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।
बैठकले पुन अदालतमा उपस्थित भएर कानुन बमोजिम सफाइ लिन निर्देशन दिएको छ ।’ बैठकले अध्यक्षबाट प्रस्तुत राजनीतिक कार्यपत्र, महासचिव र कोषाध्यक्षको प्रतिवेदन सुझावसहित पारित गरेको छ ।
राप्रपाले सरकारलाई बुझाएका विभिन्न ४० बुँदे माग पत्र सम्बोधन नगरेको भन्दै पुन ध्यानाकर्षण गराउने निर्णय पनि गरेको छ । त्यस्तै सुशासन र दीर्घकालीन माग र मुद्दामा सहकार्य गर्न सरकारको ध्यानाकर्षण गराउँदै आफ्ना माग पुरा नभएसम्म आन्दोलन जारी राख्ने पनि राप्रपाले जनाएको छ । ‘भ्रष्टाचार र जनजीविकाका सवालमा पार्टीले दबाबमूलक कार्यक्रम सञ्चालन गर्नेछ’, राप्रपाले भनेको छ । बैठकले आगामी ०८२ वैशाखभित्र सबै जिल्ला अधिवेशन सम्पन्न गर्ने निर्णय पनि गरेको छ । सहकारी छानबिननबारे प्रतिपक्षको माग बेवास्ता गर्दै संसद् चलाएकोमा संसदीय मूल्य मान्यता विपरीत भएको ठहर पनि राप्रपाले गरेको छ ।
गत पाँच वर्षमा कृषि अनुदानका नाममा तीन तहको सरकारले एक खर्ब रुपैयाँ वितरण गरेको भन्दै त्यो ककसलाई वितरण गरेको हो भनेर त्यसको श्वेतपत्र माग गर्न राप्रपाले माग पनि गरेको छ ।