kumari
stcnepal

कांग्रेस उदयपुरका क्षेत्रीय सभापति थापा सहितका नेताहरू एमालेमा प्रवेश

काठमाडौं, १३ साउन । नेपाली कांग्रेस उदयपुरका क्षेत्रीय सभापति कृष्ण थापा नेकपा (एमाले)मा प्रवेश गर्नुभएको छ । एमालेका महासचिव शंकर पोखरेलले थापासँगै नेकपा (एकीकृत समाजवादी)का खड्ग कार्की, निर्माण चौहान, मोहन मगर र जङ्गबहादुर मगरलाई आज पार्टी कार्यालय, च्यासलमा खादा र टीका लगाउँदै पार्टीमा स्वागत गर्नुभयो ।

कार्यक्रममा महासचिव पोखरेलले देश अगाडि बढाउन, जनतामा पैदा भएको निराशा चिर्न, युवाको विदेश पलायन रोक्न धेरै पार्टी होइन, बलिया पार्टी आवश्यक भएको बताउनुभयो । उहाँले एमालेलाई बलियो राजनीतिक पार्टीका रूपमा स्थापित गर्न उदयपुरमा पनि अन्य र साना राजनीतिक दलका कार्यकर्ताहरूलाई पार्टीमा समाहित गरी एमालेलाई आगामी २०८४ को निर्वाचनमा बहुमत स्थानमा एक्लै जित्ने अवस्थामा पुर्‍याउनुपर्ने बताउनुभयो ।

महासचिव पोखरेलले ६/६ महिनामा मन्त्री फेरिने अवस्थाले देश कसरी बन्छ ? प्रश्न गर्नुहुँदै राजनीतिक धू्रवीकरण आवश्यक रहेको बताउनुभयो । उहाँले राजनीतिक स्थायित्वका लागि २०८४ को निर्वाचनमा ठूला राजनीतिक दलबीच प्रतिस्पर्धा हुने र साना दलले बार्गेनिङ गर्ने अवस्थाको अन्त्य गर्नुपर्ने धारणा राख्नुभयो । महासचिव पोखरेलले नवप्रवेशीहरूलाई विगतका कमजोरी सच्याउनु महत्वपूर्ण कुरा भएको बताउँदै नयाँ यात्रामा सफलताका लागि शुभकामना दिनुभयो । एमाले प्रवेश गर्नुहुँदै नेपाली कांग्रेसका क्षेत्रीय सभापति थापाले आफू विनाशर्त एमालेमा प्रवेश गरेको र पार्टीले दिने जिम्मेवारी निष्ठापूर्वक पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

थापाले सात वर्ष अघिसम्म एमालेमै रहेर काम गरेको स्मरण गर्नुहुँदै पार्टी छोड्नु जीवनको ठूलो भुलका रूपमा आफूले लिएको बताउनुभयो । कार्यक्रममा एमाले उदयपुर जिल्ला कमिटीका अध्यक्ष भागवत राउतले जिल्ला कमिटीको अधिवेशनयता उदयपुरमा विभिन्न दलका २७२ जना नेताकार्यकर्ता एमालेमा प्रवेश गराएको जानकारी गराउनुभयो । कार्यक्रममा पार्टीका पोलिटब्युरो सदस्य मञ्जु चौधरीलगायतको उपस्थिति रहेको थियो ।

footer