kumari
stcnepal

काभा महिला भलिबलको फाइनलमा नेपाल र भारत बीच खेल हुने

काठमाडौं । काभा वुमन्स नेसन्स लिगमा नेपाल फाइनल प्रवेश गरेको छ । मंगलबार इरानलाई ३-० को सोझो सेटमा हराउँदै भारतसँगको उपाधि भिडन्त पक्का गरेको हो । दशरथ रंगशाला कभर्डहलमा मंगलबार भएको सेमिफाइनल खेलमा नेपालले इरानलाई २५-२१, २८-२६ र २५-२० ले हराएको हो ।

मंगलबार नै श्रीलंकालाई सोझो सेटमा हराउँदै भारत फाइनलमा पुगिसकेको छ । फाइनल खेल बुधबार नै हुनेछ । लिग चरणमा वेष्ट अफ फाइभ खेलेर पराजित भएको नेपालले सेमिफाइनलमा इरानसँग बदला लिएको छ । पहिलो सेटको सुरुमा ५-१ ले पछि परेको नेपालले लगातार ४ अंक जोड्दै ६-५ को अवस्थामा अघि बढ्यो । त्यसपछि नेपालले लगातार अंक जोड्दै १६-१० को अवस्थामा पुग्यो । त्यसपछि एक समय २०-२२ मा पुगिसकेको नेपालले खेलमा पछि नपरी २५-२१ ले पहिलो सेट जित्यो ।

दोस्रो सेटको सुरुवातमा २-० को अग्रता इरानले बनाएको थियो । त्यसपछि नेपाल ६-४, १०-५ हुँदै अग्रता लिँदै गइरहेको थियो । तर केही सामान्य गल्ती गर्दा इरान खेलमा फर्कियो २०-२० को अवस्थामा पुग्यो । त्यसपछि इरानले अग्रता लिँदै २४-२१ को अवस्थासम्म पुग्यो । त्यसपछि नेपालले लगातार ३ अंक जोडेर २४-२४ बनायो । त्यसपछि दुबै टिमले पालैपालो अंक जोड्यो र अन्तमा नेपालले लगातार २ अंक जोड्दै २८-२६ ले दोस्रो सेट जित्यो ।

तेस्रो सेटमा इरानले १०-७ को अग्रता बनाएको थियो । नेपालले खेलमा फर्कदै १५-१५ बनायो । त्यसपछि अग्रता लिँदै २३-१९ को अवस्थामा पुग्यो । यो सेट नेपालले २५-२० ले जित्यो । बुधबार नै तेस्रो स्थानका लागि इरान र श्रीलंकाले प्रतिस्पर्धा गर्नेछन् ।

footer