kumari
stcnepal

प्रतिनिधि सभाको बैठक बस्दै ,एमालेले आजको बैठकमा पनि विरोध जारी राख्ने

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्न लागेको हो ।बैठकका कार्यसूची तय गर्न सभामुख अग्नि सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । संसद सचिवालयका अनुसार कार्यव्यवस्था परामर्श समितिको बैठक बिहान साढे ११ बजे संसद भवन नयाँबानेश्वरस्थित शंकर हलमा बोलाइएको छ ।

हिजो सोमबार सार्वजनिक सम्भावित कार्यसूचीअनुसार दुई अध्यादेश प्रस्तुत हुँदैछन् । कानुन मन्त्री दिलेन्द्र प्रसाद बडुले यौन हिंसाविरुद्ध र फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २०७८ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

यसैबीच प्रमुख प्रतिपक्षी नेकपा एमालेले आजको बैठकमा पनि विरोधलाई जारी राख्ने जनाएको छ । एमालेका प्रमुख सचेतक विशाल भट्टराईले पूर्ववत् विरोधका कार्यक्रमहरू कायमै रहेको बताएका छन् ।

आफूले आफ्ना सांसदहरुलाई गरेको कारबाहीलाई सभामुख अग्निप्रसाद सापकोटाले मान्यता नदिएको विरोधमा वर्षे अधिवेशनभर विरोध जनाएको एमालेले गत मंगलबारदेखि शुरु भएको हिउँदे अधिवेशनको पहिलो बैठकमा पनि विरोध जारी राखेको थियो । त्यसपछि सभामुख सापकोटाले आजसम्मका लागि बैठक स्थगित गरेका थिए ।

footer